रूपन्देहीको भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा कृषि क्याम्पसका विद्यार्थी संगठनहरूले सामूहिक रूपमा संगठन खारेज गर्ने निर्णय गरेका छन्।
जेन जीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै क्याम्पसमा क्रियाशील तीन विद्यार्थी संगठनले संगठन खारेज गर्ने निर्णय गरेका हुन्।
मंगलबार बिहान करिब दुई सय विद्यार्थीहरूको हस्ताक्षर संकलन गरी क्याम्पसमा क्रियाशील कांग्रेस निकट भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेका हुन्।
विद्यार्थी संगठन खारेज गर्ने निर्णयपछि सबै संगठनका क्याम्पस कमिटीका अध्यक्ष सहितका पदाधिकारी, सदस्य र साधारण सदस्यहरूले सम्बद्ध संगठनबाट सामूहिक राजीनामा पनि दिएका छन्।
यस्तै, विद्यार्थी संगठनहरूले क्याम्पस हाताभित्र राखिएका तीन वटै विद्यार्थी संगठनका साइनबोर्ड निकालेर क्याम्पसको गेट अगाडि जलाएका छन्।
जेनजी आन्दोलनलाई सरकारले दमन गरेको र निर्दोष युवाहरूलाई ताकेर गोली हानी हत्या गरेको विद्यार्थी संगठनहरूको भनाइ छ।
उनीहरूले अब आफूहरू कुनै पनि पार्टीमा आबद्ध नहुने गरी विद्यार्थी संगठन खारेज गर्ने निर्णयमा पुगेको जनाएका छन्।
उनीहरूले सरकारले जेनजी युवाहरूलाई दमन गरेको, हत्या गरेको र भ्रष्टाचार व्याप्त रहेको भन्दै त्यसको विरोध गर्ने युवाहरूको आवाज नथुन्न आग्रह गरे।
नेविसंघका सभापति कमल सुवेदी, अनेरास्ववियुका अध्यक्ष विवेक खनाल, अखिल क्रान्तिकारीका सदस्य उज्ज्वल राय लगायतले वर्तमान सरकारले युवाहरूको आवाज रोक्न खोजेको जनाए।
अब आन्दोलनलाई सशक्त बनाउँदै भ्रष्टाचारीहरूलाई कारबाहीको दायरामा ल्याउन संगठन र दलभन्दा माथि उठेर मुलुकको हितमा र युवाहरूको आवाजमा साथ दिनुपर्ने उनीहरूले बताए।