रूपन्देहीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार राति साढे ८ बजेदेखि जिल्लाभर अनिश्चितकालीन कर्फ्यू जारी गरेको हो।
जेन जीहरूको आन्दोलनको क्रममा लुटपाट मच्चिएपछि नियन्त्रणका लागि कर्फ्यू आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जेन जीहरूको नाममा भइरहेको प्रदर्शन अनियन्त्रित भएपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू आदेश जारी गर्ने निर्णय गरेको जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै रुपन्देहीका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मङ्गलवार बेलुका साढे आठ बजेदेखि अर्को आदेश नभए सम्मको कर्फ्यू आदेश जारी गरिएको जनाएको हो।
प्रमुख जिल्ला अधिकारी पाण्डेले रुपन्देही जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम कर्फ्यू आदेश जारी गरिएको बताए।
जेन-जीहरूको नाममा अहिले पनि जिल्लाका दर्जनौं स्थानमा आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले मन्त्री, सांसद, राजनीतिक दलहरूका नेता, मेयर, वडा अध्यक्ष लगायतका घरहरूमा समेत आगजनी गरेका छन्।
बुटवलका अधिकांश सरकारी कार्यालयहरू आगलागीबाट ध्वस्त भएका छन्।
बुटवल उपमहानगरपालिका, उच्च अदालत, आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालय, इलाका प्रशासन, डिभिजन सडक कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धार्थनगर नगरपालिका लगायतका सरकारी कार्यालयहरू आगलागीबाट ध्वस्त भएका छन्।
प्रदर्शनकारीहरूले बुटवलस्थित भाटभटेनीमा पनि लुटपाट गरेका छन्।