इसराइलले मंगलबार खाडी मुलुक कतारमा रहेका हमासका वरिष्ठ नेताहरू लक्षित हमला गरेको छ।
हमलामा परेका हमास अधिकारीहरूको अवस्था तत्काल थाहा नभएको भनेर अमेरिकी पत्रिका द न्यू योर्क टाइम्सले लेखेको छ।
कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले एक विज्ञप्ति जारी गर्दै उक्त हमलाको निन्दा गरेका छन्।
उनले हमासका केही वरिष्ठ नेताहरू बस्दै आएको दोहामा रहेको 'आवासीय मुख्यालय' मा हमला भएको बताएका छन्।
गजा युद्ध अन्त्य गर्न इसराइल र हमासबीचको वार्तामा कतारले मध्यस्थकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
कतारी भूमिमा भएको प्रत्यक्ष हमलाले कतार सरकारलाई चिढ्याउने र कूटनीतिक प्रयासहरूलाई कमजोर बनाउने जोखिम बढेको छ।
अमेरिकाको अनुरोधमा कतार हमासको कार्यालय खोल्न सहमत भएको भनेर कतारी अधिकारीहरूले बताउँदै आएका छन्।
अल-अन्सारीले भने, 'यो आपराधिक हमला अन्तर्राष्ट्रिय कानुन र मान्यताहरूको ठाडो उल्लंघन हो। यसले कतारका नागरिक र त्यहाँ बस्ने मानिसहरूको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ।'
कतारी टेलिभिजन अलजजिरासँग कुरा गर्दै एक अज्ञात हमास अधिकारीले गजामा युद्धविरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावबारे छलफल भइरहेको बेला उक्त हमला भएको बताएका छन्।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले जेरुसेलममा सोमबार भएको आक्रमणको बदला दिन आफूले सेनालाई हमास नेतामाथि हमला गर्न निर्देशन दिएको बताएका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)