नेपाली सेनाले पोखराको सडकमा पनि कडाई गर्न थालेको छ। जिल्लाका सरकारी निकाय लगायत संवेदनशील क्षेत्रमा सेनाले कडाइ गरेको हो।
कर्फ्यु आदेश जारी भएकाले सर्वसाधारणलाई सुरक्षित रूपमा आवतजावत गर्न र सकेसम्म घरमै बस्न सेनाले आग्रह गरिरहेको छ।
पोखरामा मंगलबार दिनभर प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि राति १० बजेदेखि नै नेपाली सेना परिचालित भएको थियो। सेना परिचालित भएपछि पोखरामा जलिरहेका सरकारी कार्यालयहरूमा लागेको आगो निभाउन अग्रसर भएको थियो।
अहिले पनि पोखराको मुख्य चोकहरूमा उच्छृंखल गतिविधि हुन नदिन कडाइ गरिएको सेनाले जनाएको छ।
सडकमा उच्छृंखल गतिविधि रोक्न नेपाली सेनाको पश्चिम पृतना विजयपुर ब्यारेकका पृतनापति उपरथी मधुकरसिंह कार्की र विजयपुर ब्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी आफै फिल्डमा खटिएका छन्।
सडकमा खटिएका सेनाले संवेदनशील क्षेत्रमा नआइदिन र सकेसम्म सुरक्षित रूपमा घरमै बसिदिन आग्रह गरिरहेका छन्। थप उच्छृंखल गतिविधि हुन नदिन सर्वसाधारणलाई यस्तो आग्रह गरिएको सैनिक स्रोतले जानकारी दिएको छ।
पोखराका कुनै पनि ठाउँमा अप्रिय घटना हुने अवस्था देखिएमा सुरक्षा निकायमा जानकारी गराउन पनि सेनाले सर्वसाधारणलाई आह्वान गरेको छ।

