पोखरा महानगरपालिकाको कार्यपालिकाको शनिबार बसेको भर्चुअल बैठकले क्षति नभएका संरचनाबाट महानगरको सेवा सुरू गर्ने निर्णय गरेको छ।
महानगरपालिका मातहत रहेका स्वास्थ्य संस्थाहरू आइतबारदेखि नै सुरू गर्ने, ध्वस्त नभएका वडा कार्यालयहरूबाट सेवा सुरू गर्ने र महानगरको प्रमुख प्रशासकीय अधिकृतको कक्ष तत्काल निर्माण गर्ने पनि निर्णय भएको पोखरा– ४ का वडाध्यक्ष देबकृष्ण पराजुलीले बताए।
‘महानगरबासीलाई तत्काल आवश्यक सेवाहरू हस्तलिखित रूपमा भए पनि सुरू गर्ने निर्णय भएको छ,’ उनले भने, ‘क्षति नभएका संरचनाहरूका सेवा भोलिदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरिएको छ।’
महानगरभित्रका बिदा असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको पनि वडाध्यक्ष पराजुलीले जानकारी दिए।
भदौ २४ गते प्रदर्शनकारीले महानगरपालिकाको कार्यालयसँगै वडा कार्यालयहरू र सेवा केन्द्रहरूमा आगजनी र तोडफोड गरेका थिए। ध्वस्त संरचना पुनर्निर्माण गर्न संघीय सरकारको निर्णय पर्खिने पनि कार्यपालिकले बताएको छ।
भर्चुअल बैठकमा महानगरका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरूङ अधिकांश कार्यपालिका सदस्य र महाशाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
जेनजी आन्दोलनअघि नै कास्केली समाजको सम्मेलनमा भाग लिन दुबई पुगेका मेयर आचार्य अहिले दिल्ली आइपुगेको र दिल्लीबाट भर्चुअल बैठक राखेको वडाध्यक्ष पराजुलीले जानकारी दिए।