नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष महाधिवेशनबारे सात वटा प्रस्ताव अघि सारेका छन्।
बिहीबार काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा लिखित राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले सात प्रस्ताव अघि सारेका हुन्।
प्रचण्डले मंसिरमा विशेष महाधिवेशन गर्ने बताएका छन्। केन्द्रीय समितिले त्यसबारे निर्णय गर्नेछ।
१) जेन जी आन्दोलनपछि विकसित परिस्थितिमा विशेष महाधिवेशन आयोजना गरिने छ। वर्तमान केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने।
२) आयोजक समितिमा वर्तमान केन्द्रीय समिति, प्रदेश पदाधिकारी तथा केन्द्रीय प्रतिनिधिहरू रहने छन्।
३) अध्यक्षलगायत सबै पदाधिकारीको व्यवस्था तत्कालका लागि स्थगित गर्ने।
४) महाधिवेशन अवधिसम्मका लागि अध्यक्ष आयोजक समितिको संयोजकको भूमिकामा र पदाधिकारी आयोजक समितिको सचिवालयको भूमिकामा रहने।
५) सचिवालयले विशेष महाधिवेशन प्रतिनिधि छनौट कार्यविधि तयार गर्नेछ। अनुसूचि १ मा उल्लेख भएअनुसार निर्धारित गरिएको प्रतिनिधि संख्याका आधारमा सम्बन्धित समिति तथा संगठनहरूले जनवादी अभ्यासमार्फत्प्रतिनिधि छनौट गरी महाधिवेशन हुनुभन्दा कम्तीमा १५ दिन अगाडि केन्द्रीय कार्यालयमा विवरण पठाउनु पर्नेछ।
६) महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा संगठनात्मक प्रतिवेदन महाधिवेशनको मितिभन्दा एक महिनाअगाडि नै सबै समितिमा छलफलका लागि पठाइनेछ। सम्बन्धित समितिहरूले लिखित रूपमा केन्द्रीय कार्यालयमा सुझाव दिनुपर्नेछ। यसका साथै पार्टीको विचार, कार्यदिशा, कार्ययोजना, कार्यशैली, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा सार्वजनिक संवादका विभिन्न माध्यममार्फत् जनस्तरमासमेत सुझाव संकलन गर्ने ।
७) महाधिवेशनमा जेनजी लगायत युवाहरूको अधिकतम सहभागिताका लागि वातावरण तयार पार्ने।