नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन्।
मंगलबार पेरिसडाँडामा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता घोषणामा बोल्दै संयोजक दाहालले अहिले मुलुक असाधारण संकटमा रहेकोले आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताएका हुन्।
विगतमा विभिन्न कोणबाट एकता र सहकार्य गर्दा भोगेका उतारचढावहरूको आत्मसमीक्षा गर्दै मुलुकको स्वाधीनताको रक्षाका निम्ति फेरि एक पटक एकताबद्ध हुन जरूरी रहेको उनले बताए।
‘कम्युनिष्ट एकताको फेरि एउटा नयाँ कडी जोड्ने उद्घोष आज भएको छ। विगतमा साना–ठूला कम्युनिस्ट घटकहरूलाई एकताबद्ध गर्ने पहल जो गरेका थियौँ, त्यसैको नयाँ कडीको रूपमा आज नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीको बीचमा आज एकता घोषणा भइराखेको छ। यो अन्तिम फेरि होइन। हामीले अरू थुप्रैलाई पनि एकताबद्ध गर्न बाँकी छ। त्यसमा अघि नाम लिइयो, म फेरि पनि भन्न चाहन्छु- नेकपा एमालेदेखि हिजो माओवादी र एमालेका विभिन्न धारामा रहेका सबै समूहहरूलाई पनि एकताबद्ध गर्ने जिम्मेवारी तपाईं–हामी सबैको काँधमा छ,’ उनले भने।
केपी शर्मा ओलीसहितलाई उनले एकताका लागि आह्वान गरे।
‘माधवजीले केपी ओलीको नाम लिँदाखेरि अलिकति के हुने हो भन्नुभयो, मलाई चाहिँ त्यस्तो लागेको छैन। केपी ओलीसमेत मोहन विक्रमजी समेत, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायत सबै बाँकी कम्युनिस्ट समूहहरूलाई पनि अघि उमा भुजेलले भनेजस्तै आजको देशको वस्तुगत आवश्यकता बनेको छ कम्युनिस्टहरूको एकता, देशभक्त र लोकतन्त्रवादीहरूको एकता एउटा ऐतिहासिक आवश्यकता बनेको छ। त्यसकारण, म यो मञ्चबाट ती सबै कमरेडहरू जसलाई हामीले विगतमा विभिन्न रूपमा सहकार्य गर्यौँ, एकता गर्यौँ, थुप्रै–थुप्रै उतारचढावहरू भोग्यौँ, आज देश असाधारण संकटमा छ। यो बेला हामी सबैले आफ्नो सोचाइलाई, आफ्नो बुझाइलाई, आफ्नो भावनालाई अझ फराकिलो गर्नुपर्ने, सबै खालका आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा राखेर, देशलाई प्राथमिकतामा राखेर एकताबद्ध हुने आजको आवश्यकता हो। हामी सबै त्यसैमा केन्द्रित होऔँ।’
–न्युज एजेन्सी नेपाल