नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आगामी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित सबै पदाधिकारीले आगामी महाधिवेशनमा भाग नलिने निर्णय गर्नुपर्ने बताएका छन्।
बिहीबारदेखि सुरू भएको पार्टी केन्द्रीय समिति बैठकमा फरक मत पेस गर्दै उपमहासचिव शर्माले विशेष महाधिवेशन घोषणासँगै सो महाधिवेशनमा अहिले कायम रहेका सबै पदाधिकारी सामेल नहुने निर्णय गर्नुपर्ने बताएका हुन्।
'अध्यक्ष प्रचण्ड लगायत २०औं, ३०औं वर्षदेखि एउटै पदमा रहँदै आएका हामी सबै पदाधिकारी एकसाथ राजीनामा दिऔं र आगामी महाधिवेशनमा निर्वाचनको प्रक्रियामा सामेल नहुने निर्णय यसै बैठकबाट गरौं,' जनार्दनले फरक मतमा भनेका छन्।
उनले नयाँ पुस्ताका नेतृत्वलाई सहयोग गर्ने प्रतिवद्धता सहित अध्यक्ष तथा सबै पदाधिकारीहरुको एक 'निर्देशक कमिटी' को रुपमा काम गर्ने गरी संयन्त्र निर्माण गर्ने आन्तरिम विधान बनाई अगाडि बढ्नुपर्ने बताएका छन्।
'निर्देशक कमिटी' ले महाधिवेशनबाट निर्वाचित हुने नयाँ युवा पुस्ताको नेतृत्वलाई सघाउने प्रतिबद्धता जाहेर गरौं। यो विकल्पले पुरानो नेतृत्वको योगदान, सम्मान र मूल्याङ्कन मात्र होईन पार्टीको नवजीवनको सुनिश्चितता एकसाथ गर्दछ । विगतदेखी पार्टीमा स्वतन्त्र र निस्वार्थ भावले उठाएका एजेण्डाहरु र जेन - जी आन्दोलनले उजागर गरेका प्रश्नहरुको यो एकसाथ जवाफ हुनेछ,' उनले राखेको प्रस्तावमा भनिएको छ।
यसबाट जनतामा पनि सकारात्मक प्रभाव पर्दै जाने उनको भनाइ छ।
सबै पदाधिकारीले महाधिवेशनमा सामेल हुने निर्णय नभए अघिल्लो महाधिवेशनजस्तै हुनसक्ने उनले बताए।
'अन्यथा महाधिवेशन विगतमा हामीले गरेकोजस्तै ९० प्रतिशत प्रतिनिधिको मत विपरीत नेतृत्वले आफ्नो कुरा घोषणा गरेको थियो, नदोहोरिएला भन्न सकिदैन । महाधिवेशन यथास्थितीको रिन्यू गर्ने नाटकको रूपमा नहुने कुराको शुनिश्चित गरौं,' उनको प्रस्तावमा भनिएको छ।