सुदूरपश्चिम प्रदेश सरकारले दश लाख रुपैयाँभन्दा कमका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ।
शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहको निवासमा बसेको मन्त्रिपरिषद् बैठकले खर्च कटौती सम्बन्धी पाँच निर्णय गरेको हो।
निर्णयअनुसार अब दश लाखभन्दा कम बजेटका आयोजना अघि नबढाइने भएका छन्।
त्यसैगरी प्रदेश सरकार मातहतका निकाय मार्फत् उपभोक्ता समितिद्वारा आयोजना सञ्चालन नगर्ने, एउटै क्रियाकलाप नम्बरमा समावेश भएका दुई वा दुईभन्दा बढी आयोजना (खानेपानी र सिँचाइ बाहेक) कार्यान्वयन नगर्ने निर्णय गरिएको छ।
बैठकले छपाइ तथा प्रकाशन तर्फको ७० प्रतिशत र बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्यांकन, तालिम, गोष्ठी तथा सेमिनारतर्फको ५० प्रतिशत बजेट कटौती गर्ने निर्णय पनि गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
अनुभव आदान–प्रदान, अन्तरप्रदेश भ्रमण, दिवस, समारोह र उत्सव मनाउने जस्ता कार्यक्रम पनि नगर्ने निर्णय भएको छ।
त्यसैगरी शुक्रबार नै आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री शाहले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन दिएका छन्।