गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनको आधारमा रोकिएका सबै अनुसन्धानको कामहरू तत्काल अघि बढ्ने बताएका छन्।
शुक्रबार अपराह्न नक्सालस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले सुशासन प्रवर्द्धनका लागि पहिलो सर्तको रूपमा सो कामलाई अघि बढाउने बताए।
मन्त्री अर्यालले विगतमा राजनीतिक कनेक्सनको आधारमा भ्रष्टाचार बढेको उल्लेख गर्दै त्यसलाई तोडेर सरकार अघि बढ्ने पनि दोहोर्याए। त्यस अवसरमा उनले आफूले प्रचलित कानून बमोजिम कुनै पनि अनुसन्धानको कामलाई अघि बढाउन मातहतका सबै निकायलाई सचेत गराइएको पनि बताए।
सरकारले सुशासनलाई कायम गरेर मुलुकमा तोकिएको मितिमा नै निर्वाचन गराउने योजनाका साथ काम गरिरहेको गृहमन्त्री अर्यालको भनाइ थियो।
उनले भने, ‘अब सुशासनको मामिलामा केही फड्को मार्नुपर्छ। सुशासन दिन नसकेको हुनाले योभन्दा अगाडि सरकार र जनप्रतिनिधिहरूको म्यान्डेट बीचैमा भंग भयो। त्यसैले सुशासन पहिलो सर्त हो। यो सुशासनलाई हामीले कसरी प्रवर्द्धन गर्ने। थप अझै यसमा हाम्रो प्राथमिकताहरू के हुनुपर्छ तत्काल। र खास गरेर केही राजनीतिक कनेक्सनको आधारमा सुशासनमा जसरी अवरोध आयो विगतमा। कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धानमा, भ्रष्टाचारको विषयहरूमा। जुन खालको अवरोध आइराखेको थियो। त्यो अवरोध अब हामीले फुकाउनु पर्छ भन्ने सन्दर्भमा मेरो त्यो आफ्नो अपेक्षा थियो। त्यो अपेक्षा अनुसारको निर्देशनहरू मैले यहाँ दिएको छु। बाँकी त अब यो कानून बमोजिम हुने कुरा हो।’
उनले अगाडि भने, ‘अनुसन्धान गर्ने निकायले आफ्नो व्यावसायिकता प्रदर्शन गरेर कामलाई अगाडि बढाउनुपर्ने हुन्छ प्रचलित कानून बमोजिम। रोकिनुनपर्ने विषयहरू यदि रोकिएका छन् भने र, कुनै नयाँ सुरूआत गर्नुपर्ने विषयहरू छन् भने त्यसलाई तुरून्त अगाडि बढाउनुपर्छ भन्ने मेरो निर्देशन पनि भएको छ। पोलिटिकल कनेक्सनको आधारमा जे कुराहरू रोकिएको थियो। जे कुराहरु बिथोलिएको थियो। अब त्यस्तो हुँदैन। किनभने हाम्रो म्यान्डेट नै, यो सरकारको म्यान्डेट नै सुशासन हो। सुशासन नभएसम्म शान्ति सुरक्षा हुँदैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र निर्वाचन गर्न पनि सकिँदैन नि। त्यसकारण हामीले सुशासन त दिनैपर्छ। हाम्रो म्यान्डेट नै हो।’
गृहमन्त्री अर्यालले सरकारले मुलुकमा सुशासन कायम गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए। —न्युज एजेन्सी नेपाल