नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाएका छन्।
शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालको आयोजना गरेको खुला भेटघाट कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन्।
'जेनजी सरकार भनिने यो सरकार जो संवैधानिक बाटोबाट जनताको अभिमतबाट बनेको होइन। यो तोडफोड, आगजनीको माध्यमबाट बनेको हो,' उनले भने।
अध्यक्ष ओलीले एमालेले सरकारको नेतृत्व गर्दा छलछाम र षडयन्त्रका कुनै पनि गतिविधि नगरेको पनि बताए।
उनले आफूले बोलेका कुरा र गरेका कामहरू षड्यन्त्र र छलछाम भएको भए बाहिर ल्याउन पनि सरकारलाई चुनौती दिए।
'यो सरकारलाई म भन्न चाहन्छु–यो सरकारले मैले बोलेको अभिव्यक्तिहरु, मैले गरेका कामहरु प्रकाशन गरेर जनताको बीचमा ल्याओस् । अरुको पनि ल्याओस् । उहाँहरुका पनि ल्याओस् । मैले भनेका सम्पूर्ण कुराहरु यो सरकारले हिम्मतका साथ जनताका बीचमा पुर्याओस्। प्रकाशित गरोस कुराहरु । कर्मचारीलाई दिएको निर्देशनहरु रेकर्डड छन् । ती कुराहरु बाहिर ल्याओस । प्रहरीलाई दिएको निर्देशन रेकर्डेड छन । बाहिर ल्याओस् । अरु क्षेत्रमा गरेका कामहरु रेकर्डेड छन् । बाहिर ल्याओस । हामी कुनै षड्यन्त्र गर्दैनौं । हामी कुनै छलफल छाम गर्दैनौं । छलछाम र षड्यन्त्र होइन, हामी पारदर्शी ढंगले अघि बढ्छौं । हामी जुनसुकै कुरामा पनि हाम्रो नीति हो–पारदर्शिताको, स्वच्छताको र जनतालाई सेवा, सुविधा उपलब्ध गराउने कुराको । शान्ति सुब्यवस्थत गर्ने कुराको, कानूनी राज्यको कुराको । हाम्रो नीति यही हो,’ उनले भने।