नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको प्रदर्शनपछि मुलुकमा अहिले भइरहेका कुराहरू समाधान नभएको बताएका छन्।
भक्तपुरको गुण्डुमा शनिबार युवासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान परिस्थिती समाधान नभएको बताएका हुन्।
'अहिले जे भएको छ यो समाधान होइन। असंवैधानिक, अलोकतान्त्रिक बाटोबाट समाधान निस्किँदैन। लोकतान्त्रिक माध्यमबाट र केही मान्छेले एक प्रतिशतभन्दा कम मान्छेले ९९ प्रतिशतभन्दा बढी मान्छेको इच्छा यही हो भनेर लाद्ने खोजियो,' उनले भने।
ओलीले संवैधानिक तवरबाट समाधान खोज्नका लागि सम्पूर्णलाई आह्वान गरेका छन्।
उनले राजनीतिक दल, नागरिक समाज, संघसंस्था लगायत नेपालमा रहेका सम्पूर्ण पक्ष, सम्पूर्ण शक्ति र व्यक्तिहरूलाई राष्ट्रियता र राष्ट्रिय एकतालाई जोगाउन एक हुन आह्वान गरेका हुन्।
'खासगरी राष्ट्रियतालाई जोगाउन राष्ट्रिय एकतालाई जोड दिन र त्यो एकता हाम्रो शान्तिपूर्ण, सामाजिक सद्भावपूर्ण एकताबाट मात्रै सम्भव छ। म फेरि नेपालीलाई आह्वान गर्न चाहन्छु एकठाउँमा आऔं। बसौं छलफल गरौं, निकास निकालौं। समाधान खोजौं,' उनले भने।
राष्ट्रलाई सामान्य अवस्थामा फर्काउन र शान्ति सुव्यवस्थाको पुनर्बहाली गर्नुपर्ने आवश्यक रहेको उनले बताएका छन्।
'मैले देखिरहेको छु। विभिन्न शक्तिका खेल कसरी भइरहेको छ, नेपाललाई कहाँ पुर्याउन खोजिरहेको छ भन्ने म देखिरहेको छु। नेपाली जनता सजग हुन जरूरी छ,' उनले भने।