नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार भक्तपुरको गुण्डुमा पार्टीनिकट युवा संघले गरेको कार्यक्रममा उपस्थित भए।
भदौ २३ र २४ गतेको प्रदर्शनसँगै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।
प्रदर्शन हिंसात्मक बनेपछि ओलीलाई बालुवाटारबाटै सेनाले हेलिकप्टरबाट उद्धार गरेर शिवपुरीमा राखेको थियो।
भदौ ५ गते सेनाको सुरक्षा घेराबाट बाहिरिएका ओली शनिबार कडा सुरक्षा घेराबीच कार्यक्रममा उपस्थित भएका थिए।
त्यहाँबाट उनले अन्तरिम सरकारको कटाक्ष गरे।
उनले सुरूआतमै अहिलेको सरकारमा तोडफोड र आगजनीबाट बनेको आरोप लगाए।
त्यसकारण सरकार असंवैधानिक रहेको उनको तर्क थियो।
'जेनजी सरकार भनिने यो सरकार जो संवैधानिक बाटोबाट जनताको अभिमतबाट बनेको होइन। यो तोडफोड, आगजनीको माध्यमबाट बनेको हो,' उनले भने।
दोस्रो, शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्न लागिएको भन्ने विषयमा पनि ओलीले सरकारको आलोचना गरे।
उनले आफूहरू देश छाडेर कतै नजाने बताए।
'पासपोर्ट रोक्ने, के ठानेको छ? यहाँ उहाँहरूलाई यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं? के सोचेको?,' उनले भने।
उनले सरकारले आफ्नो सुरक्षाको सुनिश्चित गर्न नसकेको पनि बताए। सामाजिक सञ्जालमा आफ्नो घरको ठेगाना सार्वजनिक गरेर फेरि हमलाको आह्वान हुँदा सरकार हेरेर बसेको उनले बताए।
'यति मिनेटमा पैदल पुगिन्छ। यति मिनेटमा गाडीमा पुगिन्छ। सबै हमला गर्न जाऔं। घर तोकिएको छ। देखाइएको छ। सरकार के हेरेर बसेको छ? के गर्दैछ? सरकारले त्यतिबेला सुविधा फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु। यिनीहरूमाथि मुद्दा चलाउँछु। धाक् लगाएर बसेको छ,' उनले भने।
त्यसकारण सरकारले आफ्नो कर्तव्य पूरा नगरेको उनको दाबी छ।
'सरकारका केही कर्तव्य हुन्छ कि हुँदैन? सरकारमा हुनेहरूले सुविधा चाहिएन सुरक्षा दिनुपर्छ कि पर्दैन? असुरक्षामा देश हाल्ने, असुरक्षाका माध्यमबाट सरकारमा पुग्ने, आतंक फिँजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा दिन्न भन्ने यो कुन तरिका हो?,' उनले भने।
अध्यक्ष औलीले अहिलेको अवस्था समाधान नभएको पनि बताए।
संवैधानिक तरिकाले निकास निकाल्न उनले राजनीतिक दलदेखि सबैलाई आह्वान समेत गरेका छन्।
'खासगरी राष्ट्रियतालाई जोगाउन राष्ट्रिय एकतालाई जोड दिन र त्यो एकता हाम्रो शान्तिपूर्ण, सामाजिक सद्भावपूर्ण एकताबाट मात्रै सम्भव छ। म फेरि नेपालीलाई आह्वान गर्न चाहन्छु एक ठाउँमा आऔं। बसौं छलफल गरौं, निकास निकालौं। समाधान खोजौं,' उनले भने।