रास्वपा सांसद डा. तोसिमा कार्कीले हिम्मत भए विशेष महाधिवेशन गर्न चुनौती दिएकी छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले हिम्मत भए संस्थापनले खुला विशेष अधिवेशन गरोस् भनेकी हुन्।
'हिम्मत भए संस्थापनले खुला विशेष अधिवेशन गरोस्। पार्टी सभापतिको आशीर्वाद लिएर - लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमासँग,' उनले लेखेकी छन्।
उनले आफू कसैको प्रोपागान्डा र हेपाहा बोलीसँग रत्तिभर नडराउने पनि बताएकी छन्। त्यस्तै जति नै 'बुली' र 'मिडिया ट्रायल' भए पनि आफू राजनीतिक मैदान, ललितपुरका आफ्ना मतदाता र पार्टी पंक्ति छाडेर नभाग्ने उनले बताएकी छन्।
'देश बनाउन हिँडेको योद्धा हुँ। लड्छु,' उनले लेखेकी छन्।
हेर्नुस् उनको पूरा स्ट्याटसः
'खबरदार! पाटीलाई थप सुदृढ बनाऔं, सफल बनाऔं, समय सापेक्षिक रूपान्तरण गरौं भनी जिम्मेवारपूर्ण तरिकाले राजनीतिक विषय उठान गर्दा Get Out (गेट आउट) भनेर Bully (बुली) गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरुको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्।
कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेस गरिएको पत्रको चार बुँदा राम्रोसँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्नेलाई छाड्नहुन्न, पार्टीबाट निकाल्नुपर्छ आदि भनेर मिडिया ट्रायल गरेर पार्टी पंक्तिमा भ्रम छर्न खोज्ने?
हिम्मत भए संस्थापनले खुला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशीर्वाद लिएर - लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमासँग।
यही आन्दोलनमै पनि प्रहरीको गोलीबीच हिँडेको मान्छे हो। तिमीहरूको प्रोपागान्डा र हेपाहा बोलीसँग रत्तिभर डराउँदैन। तिमीहरूले जति नै बुली र मिडिया ट्रायल गरे पनि राजनीतिक मैदान, मेरा ललितपुरका प्रिय मतदाता र प्यारो पार्टी पंक्ति छोडेर पनि भाग्दैन।
देश बनाउन हिँडेको योद्धा हो। लड्छु।
जय घण्टी। जय देश।