नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक सूचना जारी गरी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिएका हुन्।
बैठक असोज २६ गते बस्ने मुख्यसचिव पौडेलले जानकारी दिएका छन्।
त्यसका लागि पार्टीका पदाधिकारी, सदस्य एवम् आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको पनि सूचनामा उल्लेख छ।
भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनपछि कांग्रेसले पहिलो पटक पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा नै बस्नेछ।
कांग्रेसभित्र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरी पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन्।
असोज ३ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमै महामन्त्री थापाले पार्टीको नियमित महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै गर्न सकिने बताएका थिए।
त्यसकारण यसबारे आगामी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्नुपर्ने महामन्त्री थापाले बताएका थिए।
पार्टी सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी थिएनन्।
भदौ २४ गते जेनजी पुस्ता आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सानेपास्थित केन्द्रीय कार्यालय, सभापति शेरबहादुर देउवाको घरलगायत नेताहरूका घरमा आगजनी गरेका थिए। प्रदर्शनकारीहरूको आक्रमणबाट सभापति देउवा घाइते छन् भने टाउकोमा १२ वटा टाँका लगाइएको छ। देउवा पत्नी आरजु पनि घाइते छिन्।
दुवैको उपचार भइरहेको छ।