नेकपा (एमाले) ले गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरूलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कारवाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाई रोकेको भन्दै आपत्ति जनाएको छ।
आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास गुण्डुमा बसेको सचिवालय बैठकले यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकारमाथि मात्रै हस्तक्षेप नगरेको र यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको बताएको छ।
गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै जाँचबुझ आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने तर गैरकानुनी रूपमा भएका र हुने गतिविधिमा कानुनअनुसार कारबाही हुने बताएको थियो।
एमालेले यसप्रति आपत्ति जनाएको हो।
‘पार्टी यसप्रति गम्भीर आपत्ति प्रकट गर्दछ र नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न गम्भीर ध्यानाकर्षण गर्दछ,’ उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।