तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित हुन राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेका छन्।
बडादसैं पर्वका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सबैको सहकार्यको जरूरी औंल्याएका हुन्।
‘मुलुकमा उत्पन्न भएको विषय तथा असाधारण परिस्थिति एवम् मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गरी तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्न सबै प्रकृतिका समस्यहरूको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु,’ उनले शुभकामना सन्देशमा भनेका छन्।
दसैंलाई असत्यमाथि सत्यको विजयको पर्वको रूपमा पनि लिइने भन्दै यस पर्वले सबै नेपालीहरूलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुयाउने विश्वास पनि आफूले लिएको पौडेलले बताएका छन्।

