पूर्वसांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तोसिमा कार्कीले मतदाता नामावलीमा नाम दर्ता र मतदानको पहुँचको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएकी छन्।
कार्कीले आयोगलाई लिखित रूपमै भौगोलिक रूपमा विकट जिल्लाहरूमा धेरैभन्दा धेरै बायोमेट्रिक दिने ठाउँ बनाएर मतदाता नामावली अद्यावधिक गर्न आग्रह गरेकी छन्।
‘धेरै मतदाताले भौगोलिक दूरी र जटिलताको कारण नयाँ मतदाता नामावली दर्ता गर्न असहज रहेको स्थिति जस्तै: जिल्लाहरू डोटी, बाजुरा, म्याग्दी, रसुवा, रुकुम, बैतडी, ताप्लेजुङ, मनाङ, मुस्ताङ, ओखलढुङ्गा लगायत जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय टाढा रहेको, साथै स्थानीय जनसङ्ख्या, घनत्व र पहुँचको आधारमा एकभन्दा बढी केन्द्रमा बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दछु,’ कार्कीले आयोगमा दिएको निवेदनमा उल्लेख छ।
त्यस्तै उननले स्थानीय तह मार्फत् मतदाता नामावलीमा नाम दर्ता भए/नभएको विषयमा जानकारी लिने व्यवस्था गर्न र सूचना पुर्याउन पनि आयोगको ध्यानाकर्षण गराएकी छन्।
कार्कीले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको सहज वातावरण निर्माण गर्न र कूटनीतिक माध्यमबाट पहल गर्न पनि आयोगलाई आग्रह गरेकी छन् ।
‘आयोगले प्रविधि र कूटनीतिक माध्यमबाट मार्फत मतदाताको दर्ता र नागरिकको मतदानको संवैधानिक अधिकार प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्न अनुरोध गर्दछु,’ कार्कीले दिएको निवेदनमा उल्लेख छ।
निर्वाचन आयोगले भने विदेशमा भएका नेपालीको मतदानको अधिकार व्यवस्थागर्न कानुनी अप्ठ्यारो रहेको जानकारी कार्कीलाई दिएको थियो।
‘आयोगले कानुनी जटिलता छ। अनि आर्थिक रूपमा ठूलो खर्च लाग्छ भन्ने जबाफ दियो,’ कार्कीले भनिन्, ‘सरकारले कानुनी जटिलता हटाएर बजेटको व्यवस्था गरिदिए आयोगले निर्वाचन गराउने जबाफ प्रमुख आयुक्तले दिनुभयो।’