शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन मन्त्रालयले सार्वजनिक गर्ने बताएका छन्। बिहीबार बसेको मन्त्रिपरिषदको नियमित बैठकले उक्त प्रतिवेदन मन्त्रालयमा पठाउने निर्णय गरेको थियो। मन्त्री पुनले अब उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्ने बताएका हुन्।
त्यस्तै नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरुको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी औषधिहरूको उत्पादन नेपालमै गर्नको लागि आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने निर्णय गरेको पनि उनले बताए।
यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको पुर्नसंरचना गरेर त्यहाँबाट सक्षम जनशक्ती उत्पादन गर्न सक्ने बनाउनको लागि कार्यदल बनाउने निर्णय भएको पनि उनले बताए।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तन गर्ने कामलाई उपलब्धिमुलक बनाउन, प्रतिभाशाली नेपालीहरूलाई तान्न र संस्थालाई प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन आवश्यक सुधार र पुर्नसंरचना गर्न कार्यदल बनाउने निर्णय भएको उनले बताए।
नेपाल संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगको पदाधिकारीहरूको रिक्त स्थानमा नियमानुसार तुरुन्त नियुक्ति गर्नेबारे पनि मन्त्रालयले छलफल अगाडि बढाएको उनले बताए।