राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा चुनावमा एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल गठन गरेको छ।
शुक्रबार बसेको सचिवालय बैठकले उक्त कार्यदललाई फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रस्तावित एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेश मार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गर्ने र मस्यौदा तयार गर्ने कार्यादेश दिइएको छ।
कार्यदलमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित हुनेछन्।
‘आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रस्तावित एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेश मार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय भएको छ। उक्त कार्यदललाई सुझाव संकलनको लागि सात दिनको समयावधि तोकी कात्तिक १५ भित्र उम्मेदवारी आह्वानको तयारी गर्ने पनि निर्णय भएको छ,’ प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।