नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बस्दैछ। शुक्रबारदेखि जारी बैठक शनिबारलाई तय गरिएको थियो। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो।
आज बस्ने बैठकमा भदौ २३ र २४ गतेको आन्दोलन, पार्टी पुनर्गठन, संसद पुनःस्थापना लगायतका विषयमा सदस्यहरूले धारणा राख्नेछन्। शुक्रबार पार्टी अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे विषय प्रवेश गर्दै संसद पुनःस्थापनाको प्रस्ताव राखेका थिए।
त्यसमाथि वरिष्ठ उपाध्यक्षसहित उपमहासचिवसम्मले धारणा राखेका छन्। शुक्रबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरू बरालले धारणा राखेका छन्।
त्यस्तै महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीले बोलेका थिए।
उपाध्यक्ष त्रय सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले बैठकमा अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने र पार्टीलाई नयाँ आयामबाट उठाउनुपर्ने धारणा राखेका छन्। गुरू बराल, शंकर पोखरेल र प्रदीप ज्ञवालीबाहेक अरू बोल्ने सदस्यहरूले पनि पार्टी पुनर्गठनको पक्षमा आवाज उठाएका छन्।
संसद पुनःस्थापनामा पनि ओलीको प्रस्तावले खासै साथ पाएको छैन। संसद पुनःस्थापनाको पक्षमा शंकर पोखरेल, रामबहादुर थापा बादल र प्रदीप ज्ञवालीको बलियो समर्थन गरेका छन्। केही सदस्यले मध्यमार्गी प्रस्ताव पनि राखेका छन्। धेरैको पार्टीलाई पुनःगठन गरेर चुनावको तयारी गर्नुपर्ने नै रहेको छ।
आज उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्टले धारणा राख्ने छन्।