पाकिस्तान र अफगानिस्तानबीच सीमानामा भीषण गोलीबारी भएको छ।
शनिबार राति सीमावर्ती क्षेत्रहरू खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र हेलमण्ड जस्ता सीमावर्ती क्षेत्रमा पाकिस्तानी र तालिवानी सेनाबीच गोली हानाहान भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अफगान तालिबानले सीमानामा रहेका पाकिस्तानी चौकीहरुमा आक्रमण गरेपछि दुई देशबीचको सम्बन्ध फेरि तनावपूर्ण बनेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
रोयटर्सले अधिकारीहरुलाई उद्धृत गर्दै आक्रमणको सुरूवात अफगान पक्षबाट भएको भनेका छन्। त्यसको जबाफमा पाकिस्तानले पनि आक्रमण गरेको बताइएको छ।
दुई देशका सेनाबीच ६ भन्दा बढी स्थानहरूमा एकसाथ भिडन्त भएको भनिएको छ।
अफगानी रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोराजमीले गत साता पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलमा हवाइ आक्रमण गरेको र त्यसको जबाफस्वरूप हमला गरिएको बताएका छन्।
'यदि पाकिस्तानले पुनः अफगान आकाश क्षेत्र उल्लंघन गर्यो भने हाम्रो सेनाले बलियो जवाफ दिनेछ,' उनले भने।
प्रवक्ता इनायतुल्लाहले भिडन्त राति १२ बजेतिर अन्त्य भएको पनि रोयटर्ससँग बताएका छन्।
तालिबानले तीनवटा पाकिस्तानी सीमा चौकी नियन्त्रणमा लिएको दाबी गरेको छ भने पाकिस्तानी अधिकारीहरूले पनि कैयौं अफगानी चौकी नष्ट पारिएको बताएका छन्।
पाकिस्तानी अधिकारीहरूले साझा गरेका भिडियोमा तोप र गोलीबारको आवाजका साथ रातभर सीमा क्षेत्रमा आगोको झिल्को देखिन्छ।
यो भिडन्त यसअघि पाकिस्तानले काबुलमा हवाई आक्रमण गरेर पाकिस्तानी तालिबान (टीटीपी) समूहका नेतामाथि लक्षित आक्रमण गरेपछि सुरु भएको हो।
ती नेता सवारीसाधनमा यात्रा गरिरहेका बेला हमला भएको थियो। उनी मारिएका वा बाँचेका बारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।
इस्लामाबादले अफगान तालिबान प्रशासनलाई पाकिस्तानी तालिबान आतङ्ककारीहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ। पाकिस्तानको दाबी अनुसार ती समूहहरू भारतको समर्थनमा पाकिस्तानभित्र आक्रमण गरिरहेका छन्।
भारतले भने यस आरोपलाई अस्वीकार गरेको छ।
शनिबार भएको गोली हानाहानमा मानवीय क्षतिबारे यकिन विवरण सार्वजनिक भइसकेको छैन।