सर्वोच्च अदालतले असोज २८ गते मंगलबारदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्ने भएको छ। नयाँ मुद्दा अघि बढ्ने भएपनि सर्वोच्च अदालतले अर्को सूचना नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रेन जनाएको छ।
सर्वोच्च अदालतले अन्य सेवा प्रवाहको अर्को सूचना भएपछि मात्र म्याद, हदम्याद, तारेख लगायतका विषयमा स्पष्ट पार्ने जनाएको छ।
गत भदौ २९ गते सर्वोच्च प्रशासनले नियमित रुपमा संचालन भएको मितिले ३० दिनसम्म म्याद, हदम्याद, तारेख थाम्न सकिने जनाएको थियो। तर यस्तो नियमित सेवा सुचारुको सूचना भने छिट्टै गर्ने अदालतले जनाएको छ।
सर्वोच्च अदालतको फुलकोर्टको बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको हो।
भदौ २४ गते सर्वोच्च अदालतमा जेनजी प्रदर्शनको क्रममा आगो लगाइएको थियो। उक्त आगलागीमा परि सर्वोच्च अदालतमा भएका झण्डै ८० प्रतिशत मुद्दाका मिसिल जलेका थिए। पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने अवस्थामा सर्वोच्च अदालतले नयाँ मुद्दा हेरेर अघि बढ्न लागेको हो।
सर्वोच्च अदालत स्रोतका अनुसार नयाँ मुद्दा दर्ता हुने जानकारी कानुन व्यवसायी र नेपाल बार एशोसिएशनलाई दिने तयारी छ।
मंगलबारबाट नयाँ मुद्दा दर्ता भएसँगै सोही दिनबाट सुनुवाइ सुरू हुनेछ।
यसअघि महान्यायाधीवक्ता सहित बारका पदाधिकारीहरुले नयाँ मुद्दा दर्ता गरेर अघि बढ्न सर्वोच्च अदालतलाई सुझाव दिएका थिए। महान्यायाधीवक्ता सविता भण्डारीले पुनारावेदन मुद्दा सर्वोच्चमा दर्ता गरेर अघि बढ्न तयार रहेको बताएकी थिइन्।
सर्वोच्च अदालत परिसरमै भएको एनेक्स भवनमा दुई वटा इजलास बस्ने व्यवस्था प्रशासनले मिलाइ सकेको छ। कर्मचारीहरु भने नयाँ निर्माणाधीन भवनको भुइतल्लामा बस्नेछन्।
आउँदो छठ पछि नयाँ भवनमा केही इजलास समेत बस्ने गरि तयारी भइरहेको छ।
सर्वोच्च अदालतले हाल बन्दीप्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाई बाहेकका सबै कार्य स्थगन गर्दै आएको छ।
'आज मिति २०८२ साल असोज २६ मा बसेको पूर्ण बैठकको निर्णयानुसार यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता को दफा ७३, १३७ र १५५ का निवेदनहरु मिति २०८२ असोज २८ गतेबाट दर्ता एवं सुनुवाई हुने र अन्य सेवाहरु पुन: सूचना जारी भएपछि मात्र सञ्चालन हुने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ', सर्वोच्च अदालतले जारी गरेको सूचनामा उल्लेख छ।