जेनजी आन्दोलनमा सहभागी भएकी प्रतिनिधि रक्षा बमले आफ्नो हस्ताक्षर किर्ते गरी नक्कली कागजात सार्वजनिक गरेको बताएकी छिन्। उनले यसप्रति आपत्ति जनाउँदै उजुरी दिने पनि बताइन्।
सामाजिक सञ्जालमा अहिले एक पत्र सार्वजनिक भएको छ। सो पत्रमा जेनजी प्रतिनिधिहरूले आइतबार एक बैठक बसेको र मन्त्रीका रूपमा केही युवाहरूको नाम सिफारिस गरिएको उल्लेख छ।
पत्रमा रक्षा बम, युजन राजभण्डारी, प्रदीप ज्ञवाली, मनिष खनाल, यतिश ओझा, आदित्य कर्ण, मिराज ढुंगाना, जस्मिन ओझा, प्रवेश दाहाल, अभिषेक श्रेष्ठ, उत्कर्ष श्रेष्ठ, प्रशान्त आचार्य, प्रकाश बोहोरा, दिवाकर डंगाल, ओजस्वी राज थापा, सिपी श्रेष्ठको नाम विभिन्न मन्त्रीका रूपमा सिफारिस गरिने भएको भनिएको छ।
सिफारिस गरिएको भनिएको पत्रमा माथि उल्लिखितमध्ये ९ जना युवाहरूको हस्ताक्षर पनि राखिएको छ।
तर सो हस्ताक्षर कीर्ते भएको रक्षा बम र युजन राजभण्डारीले बताएका छन्।
'म र युजनको हस्ताक्षर किर्ते गरिएको छ,' रक्षाले सेतोपाटीसँग भनिन्, 'यो कसले र कसरी बाहिर निकालियो भन्ने थाहा भएन। तर यसविरूद्ध उजुरी दिन्छौं।'
रक्षाले आफू र युजनसहित, प्रदीप ज्ञवाली, मनिष खनाल, यतिश ओझा, आदित्य कर्ण लगायतले उजुरी दिने बताइन्।
उक्त पत्रमा आइतबार बिहान सडकको आगो ‘मन्त्रिमण्डल’ नामको समितिमा प्रकाश बोहरा र अभिषेक श्रेष्ठको अध्यक्षतामा बैठक बसेको भनिएको छ। त्यस पत्रले समितिमा विभिन्न व्यक्तिहरूको बायोडाटा प्राप्त भएको दाबी गर्दै मन्त्रिमण्डलमा नाम समेत सिफारिस गरेको भनेको छ।
प्रवेश दाहालले आइतबारै एक भिडिओमार्फत् आफू सो बैठकमा सहभागी नभएको बताएका छन्। उनले यसबारे आफूलाई केही थाहा नभएको पनि बताएका छन्।
'मैले कुनै पनि कागजमा हस्ताक्षर गरेको छैन,' उनले भनेका छन्, 'यस्ता कुरामा सजग रहनुहोला। मैले आज दिनभर कुन बैठकमा उपस्थिति जनाएको छैन।'

