नेकपा (एकीकृत सामाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
माओवादी केन्द्र लगायत वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीसँग एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन केन्द्रीय कमिटी बैठक बोलाएको हो।
असोज २४ देखि २६ गतेसम्म बसेको बैठकले केन्द्रीय कमिटी बैठक बोलाएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
‘पार्टी स्थायी कमिटीको बैठक यही असोज २९ गते र केन्द्रीय कमिटीको भर्चुअल बैठक यही असोज ३० गते गर्ने निर्णय गरेको छ,’ उनले भने।
असोज २४ देखि २६ गतेसम्म बसेको सचिवालय बैठकले माओवादी केन्द्र लगायतसँग भएरहेको वार्ता प्रक्रियालाई निष्कर्षमा पुर्याउने निर्णय गरेको हो।
‘वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याउन दसौं बैठकबाट गठित वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय भएको छ,’ प्रवक्ता प्रकाश ज्वालाले भने।
बैठकले प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको छ।
‘प्रतिनिधि सभा निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउँदै निर्वाचनको तयारीमा जुट्ने निर्णय भएको छ,’ उनले भने।
वर्तमान संकटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति र पार्टीहरूबीच संवाद र सहकार्य अघि बढाउने निर्णय भएको पनि उनले बताए।
एकीकृत समाजवादीले माओवादी केन्द्रलगायत सँग एकताका लागि संवाद गरिरहेको छ। तर सम्मानित नेता झलनाथ खनालले भने माओवादीसँग एकता गर्न नहुने बताएका छन्।
बैठकले निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा उमेर पुगेका नयाँ मतदाताहरूको नाम दर्ताको काम अघि बढाइरहेकोले उक्त प्रक्रियामा सहभागी हुन सबैसँग अपिल गर्दै सो काममा सक्रिय रूपमा लाग्न पार्टी र जनवर्गीय संगठनका सबै कमिटीहरूलाई निर्देश गर्ने निर्णय गरेको उनले बताए।