सर्वोच्च अदालतले असोज २८ गते आजदेखि रिटसहित नयाँ मुद्दा दर्ता गर्ने भएको छ।
असोज २६ गते बसेको सर्वोच्च अदालतको फुलकोर्टको बैठकले आजदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको हो।
भदौ २४ गते सर्वोच्च अदालतमा जेनजी प्रदर्शनको क्रममा आगो लगाइएको थियो। उक्त आगलागीमा परि सर्वोच्च अदालतमा भएका झण्डै ८० प्रतिशत मुद्दाका मिसिल जलेका थिए। पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने अवस्थामा सर्वोच्च अदालतले नयाँ मुद्दा हेरेर अघि बढ्न लागेको हो।
सर्वोच्च अदालत स्रोतका अनुसार नयाँ मुद्दा दर्ता हुने जानकारी कानुन व्यवसायी र नेपाल बार एशोसिएशनलाई दिने तयारी छ।
मंगलबारबाट नयाँ मुद्दा दर्ता भएसँगै सोही दिनबाट सुनुवाइ सुरू हुनेछ।
यसअघि महान्यायाधिवक्ता सहित बारका पदाधिकारीहरूले नयाँ मुद्दा दर्ता गरेर अघि बढ्न सर्वोच्च अदालतलाई सुझाव दिएका थिए। महान्यायाधिवक्ता सविता भण्डारीले पुनारावेदन मुद्दा सर्वोच्चमा दर्ता गरेर अघि बढ्न तयार रहेको बताएकी थिइन्।
सर्वोच्च अदालत परिसरमै भएको एनेक्स भवनमा दुई वटा इजलास बस्ने व्यवस्था प्रशासनले मिलाइ सकेको छ। कर्मचारीहरू भने नयाँ निर्माणाधीन भवनको भुइतल्लामा बस्नेछन्।
आउँदो छठ पछि नयाँ भवनमा केही इजलास समेत बस्ने गरी तयारी भइरहेको छ।
यसअघि सर्वोच्च अदालतले हाल बन्दीप्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाई बाहेकका सबै कार्य स्थगन गरेको थियो।
'आज मिति २०८२ साल असोज २६ मा बसेको पूर्ण बैठकको निर्णयानुसार यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता को दफा ७३, १३७ र १५५ का निवेदनहरू मिति २०८२ असोज २८ गतेबाट दर्ता एवं सुनुवाई हुने र अन्य सेवाहरू पुन: सूचना जारी भएपछि मात्र सञ्चालन हुने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' यसअघि सर्वोच्च अदालतले जारी गरेको सूचनामा भनिएको थियो।