नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले चुनाव हुने विश्वासिलो वातावरण नै बनाउन नसकेको टिप्पणी गरेका छन्। गत भदौ २४ गते निवासमै जेनजी प्रदर्शनकारीबाट आक्रमणमा परेका देउवा ३४ दिनपछि मंगलबार पहिलोपटक सार्वजनिक भएका थिए। केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै चुनाव हुने सहज वातावरण भए सबै दल निर्वाचनमा सहभागी हुने पनि बताए।
‘चुनाव हुने सहज वातावरण भए सबै दल निर्वाचनमा सहभागी हुन्छन। तर सरकारले विश्वासमा लिने काम गरेको छैन,’ उनले भने।
प्रतिनिधि सभाको आगामी निर्वाचन फागुन २१ गतेलाई तोकिएको छ। सरकारले दलहरूसँग संवाद नगरेको आरोप लागिरहेको छ।
केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका थिए। प्रधानमन्त्री सुशीला कार्कीसमेत सहभागी उक्त सर्वदलीय बैठकमा दलहरूका तर्फबाट दोस्रो तहका नेता सहभागी थिए।