नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले आफ्नाबारे लगातार दुष्प्रचार भइरहेको बताउँदै आफूबारे उठेका प्रश्नहरुको जवाफ दिएका छन्।
मंगलबार सामाजिक सन्जाल फेसबुकमा भिडिओ पोस्ट गर्दै उनले सामाजिक सञ्जाल र मिडियामा आफूबारे ‘विभिन्न भ्रामक समाचार र दुःखद दुष्प्रचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको’ बताएका छन्।
माओवादी नेता शर्माले भिडिओमा मुख्यतः चार विषयमा आफ्ना धारणा प्रकट गरेका छन्।
पहिलो- पार्टी रूपान्तरण र नयाँ दल गठनसम्बन्धी बारेको विषय। जस विषयमा ठूलो भ्रम रहेको उनले बताएका छन्।
‘विगत दुई वर्षदेखि मैले पार्टीभित्र पुनर्गठन, रूपान्तरण, शुद्धीकरण र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने विषयमा निरन्तर बहस गर्दै आएको छु, लिखित प्रस्तावहरू राख्दै आएको छु’, उनले भनेका छन्, ‘अहिलेको बहसमा विषयान्तर गर्नका लागि मैले कुनै अर्को व्यक्तिको नाममा नयाँ पार्टी बनाइरहेको छु भनी गरिएको प्रचार पूर्णतया भ्रमपूर्ण छ। म नयाँ जगमा नयाँ ढंगले पार्टी निर्माण गर्नुपर्छ भन्ने पक्षमा छु, तर यो प्रचार असत्य हो।’
उनले जेन–जी आन्दोलनले मुलुकलाई स्पष्ट मार्गदर्शन दिएको र यसलाई स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
‘विगतका कमीकमजोरीमा आत्म–आलोचनासहित मैले पहिले नै क्षमा याचना गरिसकेको छु’, उनले भनेका छन्, ‘दुई वर्षदेखि मैले उठाएको रूपान्तरणको औचित्य यस आन्दोलनले पुष्टि गरेको छ।’
जनार्दन शर्माले उठाएको दोस्रो मुद्दा सम्पत्ति र पारिवारिक जीवनबारेमा छ। यसबारे पनि दुष्प्रचार गरिएको उनको भनाइ छ।
‘मेरो सम्पत्ति न्यूयोर्कमा छ वा ग्यास स्टेसन छ भन्ने प्रचार झूटो र भ्रमपूर्ण हो,’ उनले अगाडि भनेका छन्, ‘मेरा छोराछोरी अमेरिका वा विदेशमा छन् भन्ने प्रचार पनि असत्य हो। मेरा एक छोरा र एक छोरी यही देशमा छन् र यही श्रम गरिरहेका छन्। यो प्रचारबाजी आफ्नो स्वार्थ ढाकछोप गर्न गरिएको दुःखद प्रयत्न हो।’
सम्पत्ति छानबिनका विषयमा आफ्नो दृढता रहेको बताउँदै उनले भनेका छन्, ‘म दृढताका साथ भन्छु कि मैले पार्टीभित्र र संसदमा समेत २०४६ सालपछि ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ भन्ने लिखित प्रस्ताव र माग राखेको छु। अहिले भइरहेको यस दुष्प्रचारको भर्त्सना गर्दछु।’
तेस्रो विषय- पार्टीमा लोकतान्त्रिकरणको विषयमा माओवादीभित्र आवाज उठाउँदै आएको। राजनीतिक अनुभव र पारदर्शिताबारे।
‘मैले शान्ति, ऊर्जा, गृह र अर्थ गरी चार मन्त्रालयमा कुल करिब ३७ महिना काम गर्ने अवसर पाएँ। प्रश्न उठ्ने बित्तिकै मैले नैतिकताका आधारमा राजीनामा दिएको थिएँ, कुनै आन्दोलन वा संसद बन्द गर्नुपरेन’, उनले भनेका छन्, ‘संसदीय छानबिनले पुष्टि नगरेपछि मात्रै म पुनःबहाल भएको थिएँ।’
ऊर्जा मन्त्री हुँदा लोडसेडिङ अन्त्य गर्ने दृढ संकल्पले सफलता पाएको इतिहास साक्षी रहेको उनको दाबी छ।
‘चार पटक निर्वाचन जितेको छु र हरेक निर्वाचनमा मेरो मत निरन्तर वृद्धि हुँदै आएको छ,’ उनले भनेका छन्, ‘सिसिटिभीबारे प्रश्न उठ्दा मैले तत्काल छानबिनको माग गरेँ, संसदीय समिति बन्यो र पुष्टि भएन। मेरो नीतिगत सुधारका प्रभावबारे म प्रमाणसहित छलफल गर्न तयार छु।’
जनार्दनले भनेको चौथो विषय भने वर्तमान राष्ट्रिय संकटबारे छ, जहाँ उनले समाधानका लागि आह्वान पनि गरेका छन्।
‘अहिले देश गम्भीर संवैधानिक र आर्थिक संकटमा छ, राष्ट्रियता जोखिममा छ। निर्वाचन र पुनःस्थापनाका अन्तरविरोधी कुरा भइरहेका छन्,’ उनले भनेका छन्, ‘अहिलेको आवश्यकता भनेको सबै राष्ट्रवादी र देशभक्त शक्तिहरू एकताबद्ध भएर राष्ट्र र राष्ट्रियतालाई जोगाउनु हो।’
उनले जेनजी विद्रोहका एजेन्डाहरूलाई अब स्वीकार गरी तिनलाई वैधानिक प्रक्रियामार्फत् कार्यान्वयन गर्नुपर्ने पनि उल्लेख गरेका छन्।
‘यथास्थितिमा बसेर पुरानै तरिका दोहोर्याउने प्रवृत्ति एकदमै हानिकारक छ,’ उनले भनेका छन्, ‘पार्टीभन्दा माथि उठेर, सबै पदहरू त्यागेर भए पनि राष्ट्रको रक्षाका लागि योगदान गर्ने बेला आएको छ। म आफ्नो ठाउँबाट त्याग गर्न संकल्पित छु।’
शर्माले सरकारले तत्काल २०४६ सालपछि ओहदामा बसेका सबैको छानबिनका लागि एक उच्चस्तरीय आयोग गठनको माग पनि गरेका छन्।