नेपाली कांग्रेसका केन्द्रीय केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको आन्तरिक एकता र संगठनलाई सुदृढ बनाएर मात्र देशलाई सफल नेतृत्व प्रदान गर्न सकिने बताएका छन्।
उनले नयाँ पुस्ता सबै सकारात्मक परिवर्तनको नेतृत्व गर्नका लागि तयार भइसकेको बताए।
गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै नेता महरले देशलाई वर्तमान अवस्थाबाट उकास्न फागुन २१ मा तोकिएको निर्वाचन हुनुपर्ने र पार्टीको १५ औं महाधिवेशन समयमै सम्पन्न हुनुपर्ने बताए।
‘देश र पार्टीमा हाम्रो पुस्ताको नेतृत्व स्थापनाको सुनिश्चितता आवश्यक छ,’ उनले भने, ‘सबैको मतको सम्मान गर्ने प्रवृत्तिले मात्र लोकतन्त्रको रक्षा गर्छ। केन्द्रीय समितिका हरेक निर्णयहरूमा सर्वसम्मत सहमतिको जुन अभ्यास विगतमा थियो, त्यसको निरन्तरताको अपेक्षा आज पनि छ।’
उनले पार्टीका समस्याहरूको निकास केन्द्रीय समितिभित्रैबाट खोजिनुपर्ने बताए।
नेता महरले पार्टीको पुनर्जागरण र सुधारका निम्ति देशभर चलिरहेका बहसले पार्टीलाई थप सशक्त बनाउन बल पुग्ने विश्वास व्यक्त गरेका थिए।
नियमित महाधिवेशनलाई पार्टीको जीवन्तता र एकताको प्रमुख आधारका रूपमा व्याख्या गर्दै उनले समयमै हुने महाधिवेशनले मात्र पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने बताए।
पार्टीभित्र नयाँ पुस्तालाई प्रोत्साहन गर्न र अवसरको समान वितरण सुनिश्चित गर्न महरले 'कुलिङ पिरियड' (विश्राम अवधि) को अवधारणालाई कार्यान्वयन गर्नुपर्ने बताए। यसो भएमा मात्र अवसरबाट छुटाइएका योग्य नेता, कार्यकर्ताले पार्टी र देशका लागि योगदान दिन सक्ने उनको भनाइ छ।