आफ्नो समर्थन गर्ने ह्याभियर मिलेले यसै महिनाको अन्त्यमा हुने संसदीय चुनावमा हारेमा अर्जेन्टिनालाई दिइने आर्थिक सहायता कटौती गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्।
आफूजस्तै उग्र दक्षिणपन्थी मिलेले खुलेर आफ्नो प्रशंसा गर्ने भएकाले ट्रम्पले पनि अर्जेन्टिनाका राष्ट्रपति मिलेलाई मन पराउँछन्। त्यसैकारण विश्वभरी अमेरिकाले सहायता कटौती गरे पनि अर्जेन्टिनाको संकटग्रस्त अर्थतन्त्र उकास्न २० अर्ब डलर सहयोग गर्ने ट्रम्पले घोषणा गरिसकेका छन्।
तर उनको समर्थनल र सहयोगको घोषणाले पनि अर्जेन्टिनाको बजार उक्सिएको छैन।
त्यस्तै, मत सर्वेक्षणले पनि अक्टोबर २६ मा हुने मध्यावधि चुनावमा मिलेलाई मद्दत पुगेको देखाएका छैनन्।
यस्तोमा जनतालाई मिलेको दललाई भोट हाल्न दबाव दिन मिलेले चुनाव हारे सहायता रोक्ने ट्रम्पले चेतावनी दिएका हुन्।
'यदि उनले हारे भने, हामी अर्जेन्टिनाप्रति उदार हुने छैनौं,' ट्रम्पको राजनीतिक र आर्थिक समर्थन खोज्न ह्वाइट हाउसको भ्रमण गरेका मिलेसँगको भेटमा ट्रम्पले भने, 'म यी मान्छेको पक्षमा छु किनभने यीनको विचारधारा सही छ। र उनले जित्न पनि सक्छन् र नजित्न पनि सक्छन्। मलाई लाग्छ उनले जित्नेछन्। र यदि उनले जिते भने हामी उनीसँग रहनेछौं। र यदि उनले जितेनन् भने हामी जानेछौं।'
मिलेले २०२३ को राष्ट्रपतीय चुनाव जिते पनि उनको दल संसदमा भने अल्पमतमा छ। यसले उनलाई शासन गर्न केही अप्ठयारो परेको छ।
यो महिना हुने संसदको मध्यावधि निर्वाचनमा तल्लो सदनका आधा र माथिल्लो सदनका एक-तिहाइ सांसद चुनिनेछन्। आगामी निर्वाचनमा पनि उनको दलले अपेक्षा गरेजस्तो नतिजा हासिल नहुने देखिएपछि उनलाई चुनाव जिताउन ट्रम्पले सहायता रोक्ने चेतावनी दिएको मानिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)