नेकपा (एमाले) केन्द्रीय कमिटीको बिहीबारको बैठक जारी छ।
ललितपुरको धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा दोस्रो दिनको बैठक बिहान ८ बजेपछि सुरू भएको हो।
बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यसूची छ। सोअनुसार बैठक सुरू भएलगत्तै केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।
उनीहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा धारणा र सुझाव राख्नेछन्। पहिलो दिन बुधबार ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए।
शुक्रबारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ।
केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि पदाधिकारीहरूले पनि बोल्ने कार्यसूची राखिएको छ।
जारी केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्नेछ। अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं महाधिवेशन मंसिरको २७, २८, २९ पोखरामा गर्ने गरी प्रस्ताव गरेका छन्। एमालेले एक वर्षअगाडि नै महाधिवेशन गर्ने तयारी गरेको छ।
२०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा एमालेको दसौं महाधिवेशन भएको थियो।