७० जना जेनजी युवाहरूले संवैधानिक तथा राजनीतिक संकटबाट जोगाउनका लागि सबै राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिन आह्वान गरेको छ।
बिहीबार जेनजी नेपाल (Gen.znepal) पेजमार्फत विभिन्न विचार समूहका ७० युवाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिन आह्वान गरेको हो।
‘जेनजी आन्दोलनले उठाएको रूपान्तरणको मर्मलाई आत्मसात् गर्दै, वैचारिक र संगठनात्मक सुधारसहित आगामी निर्वाचनमा सहभागी हुन सम्पूर्ण राजनीतिक दलहरूलाई हामी आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘देशलाई संवैधानिक र राजनीतिक संकटबाट जोगाउने एकमात्र बाटो निष्पक्ष र समयबद्ध निर्वाचन नै हो।’
यस्तै, उनीहरूले हिंसात्मक व्यवहारलाई नस्वीकार्ने र असहिष्णु राजनीतिक प्रशिक्षण र आक्रामक संस्कारलाई अन्त्य गर्न चाहेको पनि उनीहरूले बताएका छन्।
‘हामी कुनै पनि हिंसात्मक व्यवहार स्वीकार्दैनौं र हालका राजनीतिक दलहरूद्वारा वर्षौंदेखि सञ्चालित असहिष्णु राजनीतिक प्रशिक्षण र आक्रामक संस्कारलाई अन्त्य गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अबको राजनीति क्रोध वा प्रतिशोधको होइन, तर्क, विचार र संवादको हुनुपर्छ। जेनजी पुस्ता यही नयाँ, शान्तिपूर्ण र तर्कपूर्ण राजनीतिक संस्कृतितर्फ देशलाई डोर्याउन प्रतिबद्ध छ।’
उनीहरूले आफूहरू संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहेको पनि भनाइ छ।
त्यस्तै, भदौ २३ गते सरकारको तर्फबाट भएको दमन र हत्याको निष्पक्ष छानबिन गरी दोषीहरूलाई पहिचान गरी कानुनको दायरामा ल्याउन माग गरेको छ। त्यस्तै, भदौ २३ गते भएको आगजनी, लुटपाट, तोडफोड तथा हातहतियार कब्जा जस्ता आपराधिक घटनाको पनि छानबिन गर्न माग गरेको छ।
‘यसैगरी, भदौ २४ गते भएका आगजनी, लुटपाट, तोडफोड तथा हातहतियार कब्जा जस्ता आपराधिक घटनाहरूको गम्भीर र निष्पक्ष छानबिन होस् भन्ने हाम्रो माग छ। यस्ता सुनियोजित आपराधिक गतिविधिलाई आधार बनाएर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई नै अपराधीकरण गर्ने दुस्प्रयासको हामी घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, त्यस्ता आपराधिक कार्यमा संलग्न जोसुकैलाई पनि अनुसन्धान गरी कानुनी कठघरामा उभ्याउन हामी जोडदार माग गर्दछौं। अनुसन्धानको प्रक्रियामा सच्चा र निर्दोष आन्दोलनकारी र आन्दोलनको आडमा घुसपैठ गर्ने आपराधिक तत्त्वबीच स्पष्ट रूपमा भेद गरियोस् भन्ने कुरामा पनि हामी विशेष जोड दिन चाहन्छौं।’

-1760606874.jpeg)
