नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मंसिर महिनाभित्रै पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन्।
आज सुरू भएको केन्द्रीय समिति बैठकमा धारणा राख्दै कोइरालाले अरू दलहरूले महाधिवेशन तयारी गरिसकेको र कांग्रेसले पनि मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने बताए।
‘अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौं?,’ उनले प्रश्न गरे, ‘त्यसकारण म अत्यन्त विनम्रताका साथ भन्न चाहन्छु- कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावना भएको पार्टी बनाउने हो भने मंसिर महिनामा हाम्रो महाधिवेशन गर्नुपर्छ। त्यस सम्बन्धमा महामन्त्रीले केही कुरा राख्नुभएको छ, केन्द्रीय समितिले केही निर्णय गर्छ होला।’
उनले विशेष महाधिवेशनका लागि उत्साहपूर्वक हस्ताक्षर अभियान चलेको बताए।
‘साथीहरूले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियानले कांग्रेसलाई नै ऊर्जा भन्ने हो भन्ने म बुझ्दछु,’ कोइरालाले भने, ‘यी सबैको सम्बोधन ताजा र नियमित महाधिवेशनले मात्र सम्भव छ।’
यस्तो छ कोइरालाको भनाइ;
आदरणीय कार्यवाहक सभापतिज्यू, पदाधिकारी एवं केन्द्रीय सदस्य साथीहरू।
सर्वप्रथम म जेनजी आन्दोलनको क्रममा मारिएका ती अबोध युवाप्रति र त्यसक्रममा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू जो कर्तव्य पालनाको सन्दर्भमा आफ्नो जीवन गुमाएका छन, तिनीहरू सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।
अझै पनि अस्पतालमा उपचार गराइरहनु भएका जेनजी पुस्ता र अन्य घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै राज्यद्वारा तिनलाई पुर्याउनुपर्ने यथोचित सुविधा र मानवीय संवेदनामा ध्यान पुगोस भनी ध्यानाकर्षण गर्दछु।
साथै, भाद्र २३ गते राज्यबाट अत्याधिक बल प्रयोग गर्नुको कारण देशले गुमाएका होनहार युवाहरूप्रति न्याय दिन र दोषिमाथि कडा कारबाहीको माग गर्दछु।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाज्यूद्वारा प्रस्तुत सारगर्भित, भावनात्मक र भविष्यन्मूख प्रेरणदायी मन्तव्यको लागि म हार्दिक आभार प्रकट गर्दछु।
कार्यवाहक सभापतिज्यू,
देशको यस विषम र अन्यौलग्रस्त परिस्थितिमा हामीले लिनुपर्ने निर्णयका बारेमा आफ्ना केही कुरा संक्षिप्तमा राख्न चाहन्छु।
१. विश्व परिवेशका सम्बन्धमाः
आजभन्दा झण्डै पाँच दशक अगाडि दक्षिण एशियामा घटिरहेको असामान्य राजनीतिक हलचलहरूबाट नेपाल जस्ता साना राष्ट्रहरूको अस्तित्व नै खतरामा पर्ने ठानी आठ वर्षको प्रवास जीवन त्यागेर विपी कोइराला र गणेशमान सिंह नेपाल फर्कनु भएको थियो।
देशको अखण्डता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षार्थ आफ्नो जीवन खतरामा पारी स्वदेश फर्कनु भएको त्यो ऐतिहासिक क्षण आज यसकारण पनि स्मरणीय छ की अहिले फेरि एकपटक दक्षिण एशियाका मुलुकहरूमा ठूला राजनीतिक उथलपुथल र निर्वाचित सरकार अपदस्थ हुनेक्रम शुरु भएको छ। दक्षिण एशियामा मात्र होइन विगत केही वर्षदेखि सम्पूर्ण विश्व राजनीतिमा यस किसिमका नयाँ–नयाँ प्रयोग र अप्रत्याशित घटनाहरु घटिरहेका छन्।
२.संविधानबारेः
हाम्रो देशमा एउटै पुस्ताले चार वटा राजनीतिक आन्दोलन देख्यो। हामी अगाडिका पुस्ताले राजनीतिक आन्दोलनको नाममा अनेकन् हण्डर, यातना, बलिदान, प्रवास र संघर्षहरु देखे र झेले। संविधानका अनेकन् प्रयोगहरू पनि भए र भइरहेका पनी छन्। यसैक्रममा संविधानसभाबाट आम नेपाली जनताको भावना अनुरूप निर्माण भएको वर्तमान संविधान फेरि एकपटक जनताको कठघरामा पुगेको छ।
सात दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ। यो संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौँ, भावी राजनीतिक दिशा त्यसैले तय गर्नेछ। मलाई लाग्छ सम्पुर्ण नेपाललाई एउटै अभियानमा भविष्यन्मुखी दिशातर्फ लैजाने बाटो भनेको “घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण” नै हो।
निर्वाचनको विकल्प सोच्दा आउने परिणामले हामीलाई युवा पुस्तावाट मात्र होइन देशको राजनीतिवाट पनि असान्दर्भिक बनाउन सक्छ।
३. आगामी निर्वाचनका बारेः
नेपाली कांग्रेस मात्र होइन अन्य राजनीतिक दल, सबै पुस्ता, संचार क्षेत्र, सहयोगी देश तथा विकास साझेदार निकायलगायत जेनजी पुस्ता सबैले वर्तमान सरकारलाई निर्वाचनको म्यान्डेट दिएका छन्। यो राष्ट्रिय भावधाराको विकल्प देखिँदैन।
कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर आफ्नो गुमेको वा गुम्दै गएको साख र विश्वास जनता वीच पूनर्स्थापित गर्नुपर्दछ। तर आम निर्वाचनको वातावरण बनाउन सरकारले निम्न कुराहरू पूरा गर्नुपर्छ।
क. स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न भाद्र २३ र २४ गते जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरू सरकारको नियन्त्रणमा आउनुपर्छ र त्यसक्रममा जेलबाट भागेका अपराधीहरूलाई पुनः सरकारले युद्धस्तरमा खोजेर नियन्त्रणमा लिई कानुनको कठघरामा ल्याउन ढिलो गर्नु हुँदैन।
ख. त्रासमा बसेको समाजले निर्वाध निर्वाचनमा सहभागी हुन सक्दैन, तसर्थ समाजमा निर्वाचनको वातावरण बनाउने जिम्मेवारी सरकारको हो। यसतर्फ वर्तमान सरकारको सकृयतामा केही कमी देखिएको छ।
ग. भाद्र २४ गते जेनजी आन्दोलनको नाममा भएका तोडफोड, आगजनी, लुटपाट र हत्या हिंसा जस्ता कुरालाई कुनै पनि सभ्य समाजले स्वीकार्न सक्दैन। व्यक्तिको घर र सम्पति, राष्ट्रिय सम्पदा, उद्यमी व्यवसायीको घर, व्यापारिक केन्द्र, सरकारी भवनहरूमा भएको आगजनी, लुटपाट र राष्ट्र निर्माणमा योगदान दिने नेताहरूका घरमा भएको आगजनी र बिध्वंशले हाम्रो समाजमा ठूलो घाउ छोडेको छ। यो अपुरणीय क्षति हो। त्यस्ता असामाजिक र अपराधी काम गर्ने तत्वको पहिचान गरी तिनलाई प्रचलित कानुन बमोजिम दण्ड नदिएर उन्मूक्ति दिने कार्य कदापी स्वीकार्य हुँदैन, सरकारले यसलाई हेक्का राखोस्।
४.कांग्रेसले नेतृत्व लिनुपर्नेबारेः
हाम्रो देशको राजनीति र सामाजिक नैतिक स्तरलाई माथि नउठाई हामी अब अगाडि बढ्न सक्ने अवस्था देखिएन । यसमा कांग्रेसले अगुवाई गर्न सक्नुपर्छ । यस सम्वन्धमा सरकार र सरकार संचालनमा जाने दलका पात्रहरुवारे लामो समय देखि नागरिकस्तरवाट प्रश्नहरु उठेका थिए ।
लोकतान्त्रिक सार्वभौम सिद्धान्त र मूल्यपद्धतिलाई जित र हार मात्र होइन प्रतिष्ठाको विषय बनाएर हिड्यौँ र हामीले नागरिकको आवाजलाई सुनेनौं, परिणामस्वरुप आज यो अवस्थामा आइपुगेका छौं ।
५.नियमित अधिवेशनबारेः
आज कुरा उठेको छ कांग्रेस पार्टी अब कसरी अगाडि बढछ भनेर। कांग्रेसबारे यस्तो अपेक्षा राख्ने देशभित्र र बाहिरका हाम्रा शुभचिन्तकहरू मात्र छैनन्, अन्य राजनीतिक दल र कैयन मित्रराष्ट्रहरूले पनि हाम्रा भावी कदमवारे आँखा लगाएर हेरिरहेका छन्।
अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन (सम्मेलन) गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौँ? त्यसकारण म अत्यन्त विनम्रताका साथ यहाँ साथीहरू माझ भन्न चाहन्छु “कांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टी” बनाउने हो भने २०८२ मंसिर महिनामा हाम्रो १५ औं महाधिवेशन गर्नुपर्छ। महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउनु हुनेछ भन्नेमा म विश्वस्त छु र त्यसमा मेरो पूर्ण समर्थन रहनेछ भन्ने स्पष्ट पार्न चाहन्छु।
“विशेष महाधिवेशनको” सन्दर्भमा उठेका र कांग्रेसभित्रबाट साथीहरुले उत्साहपूर्वक सञ्चालन गर्नुभएको हस्ताक्षर अभियान कांग्रेसमै ऊर्जा भर्न हो भनी म बुझ्छु। यी सबैैको सम्बोधन र नेतृत्वमा समेत ताजापन नियमित महाधिवेशनवाट मात्र सम्भव छ भन्नेमा म विश्वस्त छु।
यो ऐतिहासिक जिम्मेवारी आज हाम्रो अगाडि कर्मकाण्डी मात्र भएर आएको छैन। सही अर्थमा कांग्रेस देशको परिवर्तनको वाहक र नैतिक ओजले उठेको, युवा, उर्जा र अनुभवी पिढीँले संगालेको पार्टी बन्ने विश्वास र भरोसा जगाउनु छ। हामी नियमित अधिवेशनमार्फत यो गर्न सक्छौँ भन्ने मेरो दृढ विश्वास छ। महाधिवेशनबाट आउने परिणामले फागुन २१ गते हुने “राष्ट्रिय निर्वाचन”लाई आम जनताबीच कांग्रेसलाई फेरी एकपटक जागृत गराउनेछ ।
हेक्का राख्नुपर्ने कुरा के छ भने हाम्रा अगाडि उभिएका चुनौतिका अनुहार परिवर्तन भएका छन्, यो सामाजिक गतिको स्वभाविक प्रकृया हो। समय सापेक्ष हामी पनि परिवर्तन हुनुपर्छ। त्यो हाम्रो चरित्र र आचरणमा देखिनुपर्छ। अन्यथा हाम्रो नीति र नियम माथि नियतमा रहेको हाम्रो खोटले हामीलाई हराइरहने छ।
६.कांग्रेस भित्रको एकताकाबारेः
निःसन्देह यतिबेला कांग्रेसभित्र एकताको खाँचो छ। यो पार्टी एकता निर्णय प्रक्रियामा न्याय स्थापित गरेर मात्र सम्भव हुन्छ। निर्णय प्रकृयालाई पारदर्शी र सबैैमा “विन–विन” को भावना विकास गर्नसके सम्भव हुन्छ। यसबौरे पार्टी भित्र व्यापक बहस, छलफल र विश्लेषण जरूरी छ।
आपसी अविश्वास र सन्देहले राजनीतिक विवेक मात्र होइन सामाजिक विवेक पनि समाप्त हुन्छ। यो संस्कृतिको अन्त नै “राष्ट्रको दिशा र कांग्रेसको भविष्य” हो । एकताबद्ध कांग्रेस, बलियो कांग्रेस र समयसापेक्ष परिवर्तन कांग्रेस आजको आवश्यकता हो।
७.अनुशासन समितिबाट कारबाहीको सिफारिस सम्बन्धमाः
२०७९ सालमा नेपाली कांग्रेस र अन्य दलहरूसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारणबाट अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबैलाई वर्तमान राजनैतिक परिस्थितिमा उक्त कारबाही फिर्ता गर्न माग गर्दछु। सबै नेता कार्यकर्ता साथीहरू एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेकोले हाललाई सबै कारबाही फिर्ता गरी एकताका साथ संगठन निर्माणमा लाग्न निर्देशन दिने र विभिन्न समयमा कारणबस कांग्रेसको मुलप्रवाहवाट वाहिरिएका सबैै साथीहरूलाई राष्ट्रको साझा भविष्य निर्माण गर्न कांग्रेसको मुलधारमा आउने आह्वान होस भनी म यहाँ प्रस्ताव राख्छु।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र हुनसक्छ भन्ने हाम्रो पार्टीको मूलभूत सिद्धान्त मात्र होइन, यो हाम्रो जीवन पद्धति पनि हो। आम नेपालीहरुले अपनाएको संस्कृति पनि त्यही हो।
अन्त्यमा,
राष्ट्रको चेतना, ज्ञान र विवेक गुमाएर सामुहिक मूर्खता तर्फ कांग्रेसले आफूलाई अगाडि बढाउन सम्भव नै छैन। तसर्थ, पार्टीभित्र सम्पूर्ण एकताको खाँचो छ। एकतामा नै बल छ भन्ने मुलमन्त्र विपी कोइराला लगायत संस्थापक र अग्रजहरुले हामीलाई प्रदान गर्नुभएको शिक्षा हो।
मुख्य कुरो पार्टीप्रतिको अपनत्वलाई गहिरो गरी कार्यकर्तामा अनुभूति गराउन सके हामीलाई निर्वाचन लड्न र सरकार बनाउन कसैको सहारा चाहिँदैन। प्रश्न उठ्छ के पार्टीको निर्णय प्रणालीमा बस्ने “हामी” आम साथीहरूको भावनालाई बोकेर निर्णय गर्न तयार छौं? के नागरिकको भावनालाई बोकेर “हामी” सरकार संचालन गर्न तयार छौं?
१५ औँ महाधिवेशन वाद–विवाद, छलफल र वहस यिनै र यस्तै विषयमा केन्द्रित हुनुपर्छ।
नेपाली कांग्रेस एउटा शब्द होइन। यो नेपाली समाजको सभ्यता हो। नेपालको इतिहास हो। लोकतन्त्रको पर्यावाची हो र नेपालका सबैै जात–जाति, धर्म, सस्कृति, परम्परा र लिङ्गको आन्दोलन हो। अर्थात कांग्रेस नेपाली नागरिकको लोकतान्त्रिक आन्दोलन हो।