युक्रेनलाई तोमहक मिसाइल नबेच्नका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन्।
बिहीबार साढे २ घन्टाभन्दा लामो फोनवार्तामा पुटिनले ट्रम्पलाई अमेरिकी मिसाइल युक्रेनलाई नबेच्न आग्रह गरेका हुन्।
ह्वाइट हाउसमै आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले मिसाइलबारे पुटिनले गरेको कुराकानी सुनाएका थिए।
'अमेरिकी तोमहक मिसाइल युक्रेनलाई बेचोस् भन्ने पुटिन चाहन्छन् त? अवश्य चाहँदैनन्,' ट्रम्पले पत्रकार सम्मेलनमा भने।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार तोमहक मिसाइलका लागि ट्रम्पसँग कुराकानी गर्दैछन्।
शुक्रबार ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता हुँदैछ।
भेटमा जेलेन्स्कीले तोमहक मिसाइल खरिदबारे कुराकानी गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अलास्कामा ट्रम्प र पुटिनबीच भएको छलफलपछि रूसले युक्रेनमा थप शक्तिशाली आक्रमण गर्दै आइरहेको छ। त्यसबाट चिढिएका ट्रम्पले युक्रेनलाई हतियार दिने बताएका थिए।
ह्वाइट हाउसमा वार्ता हुनुअघि भएको टेलिफोन संवादमा पुटिनले ट्रम्पलाई हतियार नबेच्न आग्रह गरेका हुन्।
उनले अमेरिकाले युक्रेनलाई हतियार दिए शान्ति स्थापनाका लागि अहिलेसम्म भएका प्रयास र आगामी दिनमा हुने सम्भावित युद्धविराम नै अनिश्चित हुने बताएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने अमेरिकाले तोमहक मिसाइल दिने भनेपछि पुटिनले शान्तिको कुरा गरेको आरोप लगाएका छन्।
'जब जब अमेरिकाले युक्रेनलाई शक्तिशाली हतियार दिने कुरा गर्छ तब तब पुटिन शान्ति र युद्धविरामका कुरा गर्छन्,' जेलेन्स्कीले एक्समा लेखेका छन्।
कति शक्तिशाली छ तोमहक मिसाइल?
अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार लामो दूरी, उच्च परिशुद्धता र सतहनजिकै उड्ने क्षमताका कारण तोमहक आज पनि अमेरिकाको सबैभन्दा भरोसायोग्य हतियारमध्येको एक मानिन्छ।
तोमहक क्रुज मिसाइल पहिलोपटक सन् १९९१ को पर्सियन गल्फ युद्धमा प्रयोग गरिएको थियो। त्यसयता इराक, सिरिया, अफगानिस्तानदेखि यमनसम्मका विभिन्न अमेरिकी सैन्य अभियानमा यसको प्रयोग हुँदै आएको छ। तोमहक सन् १९७० दशकमै विकास सुरु भएको पुरानो तर अझै अत्याधुनिक प्रविधि भएको मिसाइल हो।
यो मिसाइल करिब १,००० माइल (१६०० किलोमिटर) टाढासम्म प्रहार गर्न सक्छ। यसको गति करिब ५५० माइल प्रतिघण्टा हुन्छ, जुन आवाजको गतिभन्दा करिब ७० प्रतिशत हो।
यस्तो मिसाइल सतहबाट मात्र करिब ३० मिटरमाथि उड्ने भएकाले रडारले पत्ता लगाउन कठिन हुन्छ।
त्यसैले यो आक्रमणको समयमा अत्यन्त गुप्त र घातक ठहरिन्छ। युक्रेनबाट रूसको राजधानी मस्को र प्रमुख सहर सेन्ट पिटर्सबर्ग ५०० माइलभन्दा नजिक रहेकाले पनि तोमहकको प्रयोग गरेर युक्रेनले रूसमा आक्रमण गरी त्यहाँ ठूलो क्षति पुर्याउन सक्छ भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।
तोमहक सामान्यतया समुद्री जहाज वा पनडुब्बीबाट प्रक्षेपण गरिन्छ। सुरुमा ठोस इन्धनले चल्ने बुस्टर मोटरले मिसाइललाई करिब १५ सय फिट माथि उठाउँछ। सानो जेट इन्जिनले त्यसलाई विमानझैँ उडाउँछ। एक पटक लक्ष्यको दिशा सेट गरेपछि मिसाइलले आफैं भू–नक्शा र जिपिएस संकेतको आधारमा बाटो खोज्दै लक्ष्यमा पुग्छ।
यसको नयाँ संस्करणमा त उडानकै क्रममा पनि नयाँ आदेश दिएर लक्ष्य परिवर्तन गर्न सक्छ भनेर न्यूयोर्क टाइम्सले लेखेको छ।
अहिले अमेरिकी सेनाले जमिनबाटै यस्ता मिसाइल प्रक्षेपण गर्न सक्ने ‘टाइफुन’ नामक प्रणाली विकास गरेको छ। सन् २०२४ मा पहिलोपटक यस्तो लन्चरबाट तोमहक परीक्षण गरिएको थियो। यही प्रणाली मार्फत युक्रेनले पनि तोमहक चलाउन सक्ने आँकलन गरिएको छ।
तोमहकमा साधारणतया करिब ४०० पाउन्ड टिएनटी बराबरको विस्फोटक वारहेड हुन्छ। यसले ठूला भवन, सैन्य केन्द्र वा कमाण्ड पोस्ट नष्ट गर्न सक्छ। केही संस्करणहरूमा स–साना बम (क्लस्टर बम) रहने गर्छन्, जसले ठूलो क्षेत्रभर क्षति पुर्याउन सक्छ। अर्को संस्करणले विद्युत् सञ्जालमा कार्बन फाइबर छरेर अस्थायी रूपमा बिजुली आपूर्ति बन्द गराउने क्षमता पनि राख्छ भनेर न्यूयोर्क टाइम्सले लेखेको छ।
अमेरिकी रक्षा बजेट अनुसार एउटा तोमहक मिसाइलको मूल्य ८ लाखदेखि २० लाख अमेरिकी डलरसम्म पर्छ। यति महँगो मिसाइल हरेक आक्रमणमा प्रयोग गर्न सजिलो हुँदैन। त्यसैले यसको प्रयोग प्रायः रणनीतिक वा उच्च–महत्त्वका लक्ष्यहरूमा मात्रै हुन्छ।
अमेरिकासँग अहिले हजारौं तोमहक मिसाइल रहेको अनुमान छ, तर नयाँ उत्पादन कम भएकाले स्टक घट्दो छ। त्यसैले युक्रेनलाई यस प्रकारको मिसाइल दिन अमेरिकी नेतृत्वले सजिलै निर्णय गर्न सक्दैन। त्यसबाहेक, यस्तो हतियार पाउँदा रुसले कसरी प्रतिक्रिया दिन्छ भन्ने विषय पनि कूटनीतिक रूपमा संवेदनशील छ।