नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजीनामा माग्ने केन्द्रीय सदस्यलाई सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ, काँधमा अझै जिम्मेवारी छ भन्ने जबाफ फर्काएका छन्।
शुक्रबार केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमा सदस्य एवम् पदाधिकारीहरूले उठाएका प्रश्नहरूको जबाफ दिने क्रममा उनले राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने बताएका हुन्।
‘केही साथीले राजीनामा माग्नु भएको छ। ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको हुँ। मेरो काँधमा जिम्मेवारी छ। त्यो पूरा नगरी छोड्दिनँ। मेरो राजीनामा महाधिवेशनमा छलफल गरौंला। त्यहाँ छलफल होला। प्रतिनिधिहरूसँग फैसला मागौंला।
उनले पार्टीलाई तिक्ततामा नलग्न पनि अनुरोध गरेका छन्। ‘मित्रतासाथ जाऔं,’ उनले भने।
अध्यक्ष ओलीले पूर्वप्रधानन्यायाधीश भइसकेकी सुशीला कार्की प्रधानमन्त्री बन्न नमिल्ने बताएका छन्। कार्कीले नै पद अस्वीकार गर्नुपर्ने पक्षमा आफू रहेको पनि उनले बताएका थिए।
‘पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न मिल्दैनथ्यो, उहाँले नै अस्वीकार गर्नुपथ्र्यो। मैले त केयर टेकर (काम चलाउ) प्रधानमन्त्रीको रूपमा सबैसँग छलफल गर्नुस् भनेको थिएँ। मैले छलफल गर्न पाइनँ। म त सैन्य सुरक्षामा थिएँ। सायद उहाँहरूले हामीसँग संवाद नगर्ने भन्नु भएको होला,’ ओलीले बैठकमा भने।
मौजुदा सरकारले आफूलाई पक्राउ गर्न खोजेको पनि अध्यक्ष ओलीले आरोप लगाए।
‘गृहमन्त्रीले बोलाएर उजुरी हाल्न लगाउने! टिओबीहरूले आदेश दिने?,’ ओलीले बैठकमा भने। अध्यक्ष ओलीले जेनजी अगुवा सुदन गुरूङबारे पनि प्रश्न गरे।
‘मलाई थाहा छैन उसको नागरिकता गोरखाको हो कि, मान्छे पनि गोरखाको हो?,’ ओलीले भने।
उनले भदौ २३ गतेको घटनाको त्यही दिन मन्त्रिपरिषद् बैठक राखेर छानबिन गर्न भनेको पनि बताए।
गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यक्ष ओलीलाई कसरी पक्राउ गर्न सकिन्छ भनेर अहिले पनि सल्लाह र छलफल गरेको ओलीको दाबी छ।
‘ओलीलाई कसरी पक्राउ गर्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो। कहीँकतै, केही भेटिएन। तर केपी ओलीलाई त जसरी पनि थुन्नु पर्छ भनेर सरकार लगातार प्रयासमा छ,’ उनले भने।
तर जेनजीहरू दलविरूद्ध नरहेको, जान नमानेको सूचना आफूसँग रहेको ओलीले बताएका थिए।
‘जेनजीले यो माग गरेका छैनन्, उनीहरू यो दाबी गरिरहेका छन्– हामी दलका विरूद्ध छैनौं, संविधान विरूद्ध छैनौं भनेका छन्,’ उनले भने।
बैठकमा केही सदस्यहरूले अध्यक्षको भाषा नम्र नभएको भनेको प्रति पनि ओलीले टिप्पणी गरेका थिए।
‘साथीहरूले नरम भाषा बोल्नुस् भन्नुभएको छ, यसमा चिनी थपिदिनु?,’ ओलीले जबाफ दिए।