नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापनका क्रममा कार्यकर्ताहरूले ‘केपी ओली वी लभ यू’ को नारा लगाएका छन्।
एमालेको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियूका कार्यकर्ताहरूले नारा लगाएका हुन्।
सरकार छाडेर भक्तपुरको गुण्डुमा बस्न थालेका ओलीको सुरक्षामा अहिले ठूलो संख्यामा युवा संघका कार्यकर्ताहरू परिचालित हुने गरेका छन्।
ललितपुरको सानेपास्थित एक पार्टी प्यालेसमा दुई दिनसम्म चलेको बैठकमा ओलीले नेतृत्व नछाड्ने बताएका थिए।
एमालेको गुण्डुमा भएको सचिवालय बैठकमा धेरै नेताहरूले ओलीले नेतृत्व छाड्नुपर्ने बताएका थिए। तर केन्द्रीय समितिमा भने ओलीको पक्षमा नेताहरू बोलेका थिए।
सचिवालय बैठकमा राजीनामा मागेका नेताहरूले समेत महाधिवेशनको मिति प्रस्ताव गरेपछि केन्द्रीय समितिको बैठकमा राजीनामाको माग गरेका थिएनन्।
साँझ अबेर सकिएको बैठकपछि हलबाट ओली बाहिरिँदा कार्यकर्ताहरूले दायाँ र बायाँ दुई लाइनमा बसेर नारा लगाएका हुन्।
एमालेको केन्द्रीय कमिटी बैठक बसेको पार्टी प्यालेस बाहिर दिउँसैबाट झण्डै एक सय हाराहारी कार्यकर्ता रातो क्याप लगाएर बसेका थिए।
एमाले कार्यकर्ताहरूले विगतमा पनि ओली सत्ताबाट बाहिरिँदा ‘केपी बा वी लभ यू’ को नारा लगाएका थिए।