राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको सचिवालय बैठकले तीन वटा निर्णय गरेको छ।
बैठकले शुक्रबारै बस्ने केन्द्रीय समितिको भर्चुअल बैठकमा आगामी विस्तारित बैठकका सहभागी, एजेण्डा र उक्त बैठकमा प्राप्त हुने सुझाव एवं रायहरूको सम्बोधन मोडालिटीबारे छलफल गर्ने निर्णय गरेको छ।
त्यस्तै, परिवर्तित राजनीतिक परिस्थितिमा बृहत्तर अलायन्स निर्माण सम्बन्धी प्रयासहरूबारे छलफल गर्ने र उच्चस्तरीय संवाद समिति विस्तार गर्ने निर्णय गरेको पार्टी महासचिव कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
सो समितिको उपसंयोजकमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शिशिर खनाललाई र सदस्यमा केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीलाई मनोनयन गरिएको छ। आवश्यकता अनुसार पार्टी सचिवालय सदस्यहरूलाई संवाद दूतका रूपमा समितिमा संलग्न गराइने निर्णय पनि बैठकले गरेको छ।
पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी गठन गरिएको वाचापत्र तयारी समिति विस्तार गरेको छ।
सो समितिमा सचिवालय सदस्य तथा पूर्व प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य सोबिता गौतम, केन्द्रीय सदस्य गणेश कार्की र केन्द्रीय सदस्य डा. नन्दन यादवलाई मनोनयन गरिएको बुर्लाकोटीले जानकारी दिए।