जेनजी अभियानी मिराज ढुंगानाले वर्तमान सरकारको म्याण्डेट केबल चुनाव गराउनुमात्रै नभएको बताएका छन्।
शनिबार काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्दै ढुंगानाले त्यसबाहेक अरू थुप्रै म्याण्डेटहरू रहेकाले त्यसलाई पूरा गर्नतर्फ सरकार लाग्नुपर्ने बताएका हुन्।
'प्रधानमन्त्री ज्यूलाई यहीँबाट भन्छु यो चुनावी सरकार होइन। भ्रममा नबस्नुहोला । हामी जनताले दिएको म्याण्डेट लिएर जान्छौं। यसलाई छाड्नेवाला छैन,' उनले भने।
जेनजीको मुख्य एजेण्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएकाले त्यसका लागि पनि सरकार तयार हुनुपर्ने बताए।
यद्यपि अन्तरिम सरकार र संसद भंग भएको अवस्थामा वैधानिक तवरले त्यो एजेन्डा कार्यान्वयन गर्न नसकिने भनेर उपस्थित पत्रकारले बुझाएका थिए।
जबाफमा ढुंगानाले संविधानसम्मत ढंगले गर्न नसकिने बताए।
'प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विषयमा अहिले संविधानसम्मत हिसाबबाट जान मिल्दैन,' उनले भने, ' हाम्रो सरकार पनि संविधानसम्मत त होइन। जनताको म्याण्डेट त त्यही हो नी। त्यसलाई छाड्न मिल्ने कुरै भएन।'
उनले संशोधनका लागि जे गर्नुपर्छ त्यो गर्ने बताए।
'संशोधन गरौंला। के गरौंला, गर्नेबेला गरौंला। गर्न चाहिँ गर्छौं।नगरी जाँदैनौं,' उनले भने।