नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन्।
पार्टीको सम्पर्क समन्वय कमिटीले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष ओलीले सरकारले राजनीतिक दलहरुलाई निषेध गरेर चुनाव गराउँछु भन्दै हिँडेर आम जनतालाई ढाँटने काम गरिरहेको बताएका हुन्।
‘चुनाव गराउने । लुटिएका हतियार कहाँ छ ? राजनीतिक नेताहरुलाई चुनावमा जान दिँदैनन् । राजनीतिक दलहरुले चुनावमा भाग नलिएर आफैँ मात्रै भाग लिएर चुनावको नाटक गर्ने । कति राम्रो ड्रामाको परिकल्पना । तसर्थ यस्ता परिकल्पना जनतालाई झुक्याउने, जनता ठग्ने मेलो मात्रै हो,' उनले भने।
ओलीले निर्वाचन गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधि सभा पुनः स्थापनाको मागलाई अघि बढाउनुपरेको बताए।
'जनता सचेत छन काम लाग्दैन । यो चुनाव हुनेवाला छैन । त्यसकारण हामीले विघटित प्रतिनिधि सभा पुनस्थापना भनेको हो,’ उनले भने।