अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको विरोध गर्दै देशव्यापी प्रदर्शन भएको छ।
शनिबार अमेरिकाको ५० वटै राज्यका मुख्य मुख्य सहरहरूमा ट्रम्प प्रशासन विरोधी प्रदर्शन भएका हुन्।
प्रदर्शनलाई 'नो किङ्स' नाम दिइएको छ। गत जुनमा 'नो किङ्स' भन्ने नारासहितको प्रदर्शन भएको थियो। शनिबारको प्रदर्शनलाई यसकै दोस्रो संस्करण भनिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शनिबार देशभरि २६ सय भन्दा बढी स्थानहरूमा प्रदर्शन र र्याली सम्पन्न भएका थिए।
प्रदर्शनमा लाखौं मानिसहरूले सहभागिता जनाएका थिए भने प्रदर्शन शान्तिपूर्ण रूपमै सम्पन्न भएको भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्।
न्यूयोर्कमा मात्रै एक लाखभन्दा बढी मानिसहरूले मार्च गरेको बताइएको छ।
यस आन्दोलनका आयोजकहरूले यो प्रदर्शन लोकतन्त्र र नागरिक स्वतन्त्रताको संरक्षणका लागि गरिएको बताएका छन्।
प्रदर्शनकारीहरूका अनुसार ट्रम्पले आफूलाई संविधानभन्दा माथि राख्ने गरेकाले त्यसको विरोधमा नो किंग्स प्रदर्शन गरिएको हो।
ट्रम्प प्रशासनले सत्ता दुरुपयोग गर्दै संविधानले सुनिश्चित गरेको स्वतन्त्र अभिव्यक्तिको अधिकार कमजोर बनाउने प्रयास गरिरहेको उनीहरुको आरोप छ।
ट्रम्प प्रशासनको आप्रवासी नीति, संघीय सहायतामा कटौती, राज्यहरूमा संघीय सेना परिचालन लगायत विभिन्न विषयमा असहमति छ।
यद्यपि ट्रम्प र रिपब्लिनक समर्थकहरूले प्रदर्शनकारीहरूलाई आतंककारी र वामपन्थी उत्तेजक भनेर आलोचना गरेका छन्।
त्यसकारण प्रदर्शन शान्तिपूर्ण रहे पनि अघिल्लो पटकको भन्दा बढी संवेदनशील देखिएको भनेर रोयटर्सले लेखेको छ।
प्रदर्शनमा सहभागीहरू संघीय सरकारको निगरानीमा पर्न सक्ने र सम्भावित फेसियल रिकग्निसन (मुख पहिचान), मोबाइल फोन ह्याकिङ, र ड्रोन निगरानी जस्ता प्रविधिको प्रयोगबारे चिन्ता व्यक्त गरेका छन्।
इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेशनका थोरीन क्लोसोव्स्कीका अनुसार, वाशिङ्टन डीसी लगायतका ठूला शहरहरूमा निगरानी प्रविधि ग्रामीण क्षेत्रमा भन्दा धेरै कडा हुन सक्छ।
'अघिल्ला प्रशासनका समयमा पनि शान्तिपूर्ण प्रदर्शनहरू निगरानीमा राखिन्थे, अहिले त स्थिति अझ संवेदनशील बनेको छ,' उनले भने।