नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले महाधिवेशन प्रतिनिधिहरूको कार्यकाल सकियो भन्ने टिप्पणीलाई लक्ष्य गर्दै त्यस्तो कुरा काइते तर्क हुने प्रतिक्रिया दिएका छन्।
नेता घिमिरेसहितको अगुवाइमा १४ औं महाधिवेशनका प्रतिनिधिहरूले कांग्रेस विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते २४८८ जनाको हस्ताक्षर बुझाएका थिए।
५३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाए पनि कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशन बोलाउन चाहिरहेको छैन।
साथै मंसिरभित्र नियमित १५ औं महाधिवेशनसमेत बोलाउन नसकिने भनेर संस्थापन पक्षका नेताहरूले भनिराखेका छन्।
यही सन्दर्भमा विशेष महाधिवेशन पक्षधरहरूले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी महाधिवेशन प्रतिनिधिको कार्यकाल सकियो भन्नु काइते तर्क भएको उल्लेख गरेका हुन्।
‘केन्द्रीय कार्यसमितिको चाहिँ विधानमा कार्यकाल तोकिएको छ, महाधिवेशन प्रतिनिधिको कार्यकाल तोकेको चाहिँ मैले कतै पनि देखिनँ है विधानमा,’ पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले भने, ‘सडक, राष्ट्र र पार्टीको आवश्यकताअनुसार महाधिवेशन प्रतिनिधिको कार्यकाल जति पनि रहन्छ। महाधिवेशन प्रतिनिधिको कार्यकाल सकियो, छैन भन्ने काइते तर्क हो, यसमा हामी सहमत छैनौं।’
कांग्रेस विधानमा महाधिवेशन प्रतिनिधिको कार्यकालबारे केही खुलाइएको छैन। अन्य संरचनाहरूको कार्यकाल भने चार वर्ष रहने उल्लेख छ।
सभापति शेरबहादुर देउवा पक्षका केही र नेता शेखर कोइराला पक्षका केही नेताहरूले महाधिवेशन प्रतिनिधिहरूको कार्यकाल असोजमै सकिएको दाबी गर्दै आएका थिए।
यो पनि: