सहरी विकास मन्त्री कुलमान घिसिङले निर्माणाधीन संसद भवन निरीक्षण गरेका छन्।
शनिबार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गरेका हुन्।
आगामी निर्वाचन फागुन २१ मा हुँदैछ। फागुन २१ मा निर्वाचन भई प्रतिनिधि सभा सदस्यहरूले नयाँ संसद भवनबाट कार्य सञ्चालन गर्नसक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन निर्देशन दिइएको छ।
अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री घिसिङले पुरानो संसद भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएर ध्वस्त भएकाले राष्ट्रिय सभा पनि सञ्चालन गर्नुपर्ने र प्रतिनिधि सभा पनि फागुन २१ गतेपछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए।
नयाँ संसद भवन छिटोभन्दा छिटो सञ्चालन गर्न नसके असर धेरै पर्ने स्थिति रहेको उनले बताए।
पुस १६ गतेसम्म सबै काम गरिसक्ने निर्माण कम्पनीले भने पनि त्यो स्थिति पूरा हुन गाह्रो रहेको उनले बताए।
हरेक दिनको सेड्युल बनाएर काम गर्न उनले निर्देशन दिए।
दुई चरणमा काम गरी समयमै काम सम्पन्न गर्न उनले निर्देशन दिए।
दुई दिनभित्र सेड्युल पेस गर्न र त्यही अनुसार काम गर्न निर्देशन उनले दिए।
निर्माण कम्पनीले चाहेको खण्डमा समयमै काम सकिने जिकिर गरे। आवश्यक स्रोत, साधन र जनशक्ति खटाएर तीव्रताका साथ काम गर्न निर्देशन दिए। समयमै काम सम्पन्न नभए कारबाही स्वरूप जरिवाना तिराउने चेतावनी दिए।
अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने मिति तोकेको छ। तर राजनीतिक दलहरू भने सरकार निर्वाचन गराउन भन्दा भाँड्ने काममा लागेको भन्दै आपत्ति जनाइरहेका छन्। नेकपा एमाले संसद पुनःस्थापना हुनुपर्ने भन्दै अदालत जाने तयारीमा छ।
- न्युज एजैन्सी नेपाल