राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठक आइतबार बस्दैछ।
सचिवालय बैठक आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए।
आजको बैठकमा पाँच वटा कार्यसूची तय गरिएको छ।
पहिलो, समसामयिक राजनीति र आगामी कदमबारे छलफल हुनेछ।
दोस्रो विस्तारित बैठकको तयारीबारे छलफल हुँदैछ। रास्वपाले आगामी कात्तिक २१ र २१ गते विस्तारित बैठक आयोजना गर्दैछ। त्यसमा आगामी फागुन ७, ८, ९ हुने पहिलो महाधिवेशनबारे छलफल हुनेछ। रास्वपाले महाधिवेशनको मिति पुनः सार्नेबारे पनि छलफल गरिरहेको छ।
तेस्रो कार्यसूचीमा मतदाता नामावली दर्ता अभियानलाई राखिएको छ। आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिएकाले कात्तिक मसान्तभित्र मतदाता नामावलीमा नाम दर्ताको समय छ। त्यसलाई अभियानका रूपमा लैजाने पार्टीले तयारी गरेको छ।
चौथो कार्यसूचीमा पार्टी गतिविधि समीक्षा र योजना राखिएको छ।
त्यस्तै विविध प्रस्तावमाथि पनि छलफल हुनेछ।