नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो २:३० बजे हुने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाएकी छन्।
मन्त्रीहरूलाई आजै नियुक्त गरेर दिउँसो २:३० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गराउने कार्यक्रम छ।
डा. सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ भूमि मन्त्री, खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्न लागेको स्रोतको भनाइ छ।
यसअघि गणपतिलालको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा थियो। तर राष्ट्रपति कार्यालयमा नाम पठाउँदा उनलाई भूमि मन्त्री बनाउने उल्लेख रहेको स्रोतको भनाइ छ।
चार जना मन्त्रीहरूको शपथ आज गर्न लागिएको हो।
कार्की नेतृत्वको मन्त्रिपरिषदमा अहिले ७ जना मन्त्री छन्।
स्वास्थ्य मन्त्री बन्न लागेकी डा. शर्मा योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले २०६५ साल असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सचिवको कार्यभार सम्हालेकी थिइन्।
भूमि मन्त्री बन्न लागेका गणपतिलाल श्रेष्ठ सम्पदा अभियानी हुन्। उनी लामो समयदेखि काठमाडौं उपत्यकालगायत सांस्कृतिक क्षेत्रहरूको मौलिक सम्पदाहरूको संरक्षण, सम्बर्द्धन र जगेर्नाका क्षेत्रमा क्रियाशील रहँदै आएका छन्।
खगेन्द्र सुनार अभियानी हुन्। उनी विशेष गरेर दलित हकहित र अधिकारका क्षेत्रमा क्रियाशील छन्। छुवाछूतजस्ता सामाजिक कुप्रथाका विरूद्ध पैरवी गरिरहेका सुनार माइतीघर मण्डलमा नेलसहित प्रदर्शन गरेर चर्चामा आएका थिए। त्यतिबेला उनको ‘दलितलाई खै’ भन्ने अभियान चर्चामा थियो।
बब्लु गुप्ता पनि अभियानी नै हुन्। उनी परोपकारी संस्था १०० ग्रुपका संस्थापक हुन्।