नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलन क्रममा प्रमुख रूपमा उठाइएको भ्रष्टाचारको अन्त्य र सुशासनलाई मुख्य रूपमा सम्बोधन गर्ने बताएकी छन्।
आइतबार पदभार ग्रहण क्रममा उनले सुशासनलाई मूख्य लक्ष्य मानेर अघि बढ्ने बताउँदै कर्मचारीहरूलाई त्यसमा प्रतिबद्ध भएर काम गर्न पनि निर्देशन दिएकी हुन्।
मातहतका कर्मचारीबाट भ्रष्टाचार भएको सुन्नुपर्ने अवस्था आउन नदिन पनि उनले निर्देशन दिइन्।
'कुनै पनि तहमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्,' उनले भनिन्।
भ्रष्टाचार आर्थिक र प्रशासनिक दुवै रूपमा हुने बताउँदै उनले फाइल अड्काएर दुःख दिने लगायतका काम पनि नगर्न कर्मचारीहरुलाई निर्देशन दिइन्।
आफूले तीन वर्ष मन्त्रालयमै सचिवको रूपमा काम गर्दा पनि भ्रष्टाचारसँग कसरी जुध्ने भन्ने मुख्य चुनौती रहेको उनले बताइन्।
'त्यो चुनौती सायद प्रशासनिक लेबलबाट जति गर्न सक्थेँ गरेँ। राजनीतिकतर्फका चुनौतीप्रशासनले ह्याण्डल गर्न सकिँदैन त्यसकारण बाहिरिएँ। अहिले रोल फेरिएको छ। राजनीतिक रूपमा आएको छु। प्रशासनका सबै साथीहरूलाई एउटै अनुरोध छ। खरिद प्रक्रियालाई पारदर्शी बनाऔं। शून्य भ्रष्टाचार कसरी हुन्छ भन्नेमा विशेष चनाखो हुनू.' उनले भनिन्।
भएका स्रोत साधनको कसरी सदुपयोग गर्ने भन्नेमा पनि चनाखो रहन उनले आग्रह गरिन्।
मन्त्री गौतमले मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेको बताइन्। 'वर्तमान परिस्थिति हेरेर मानसिक स्वास्थ्य ठूलो चुनौतीका रूपमा देखा पर्न थालेको छ। त्यसलाई सम्बोधन गरिनेछ।त्यसको डिटेलमा प्राविधिक टिमले काम गर्नेछ,' उनले भनिन्।
जेनजी आन्दोलन क्रममा शहिद भएका परिवारहरु त्यो परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने विषय पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताइन्।
त्यसका लागि अर्थ मन्त्रालयसँग बजेटबारे सल्लाह गरेर निर्णय लिने उनले बताइन्।