अन्तरिम सरकारले डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार शपथ लिएर मन्त्री शर्माले कार्यभार सम्हालिसकेकी छन्।
७० वर्षीया डा. शर्माले लामो समय निजामती सेवाको विभिन्न पदमा रहेर अनुभव हासिल गरेकी छन्। उनी प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सचिवको कार्यभार सम्हालेकी थिइन्।
काठमाडौंमा जन्मेकी शर्माका बुबा लक्ष्मीनाथ गौतमका बुबा गृहसचिव थिए। पछि उनी राष्ट्र बैंकका गभर्नर पनि भए। डा. शर्मा लक्ष्मीनाथ र उनकी पत्नी सुभद्राका ११ सन्तानमध्ये कान्छी हुन्।
उनी न्योखा (क्षेत्रपाटी) को कन्या मन्दिर पढेकी हुन्। २०२८ सालमा एसएलसी दिएकी उनले अमृत साइन्स कलेजबाट आइएससी गरेकी हुन्। त्यसपछि भारत, राँचीको राजेन्द्र मेडिकल कलेजमा पढिन्।
फर्केर उनले थापाथलीस्थित प्रसूति गृहमा काम गरिन्। २०३९ सालमा उनको भरतपुर अस्पताल, चितवनमा नियुक्ति भयो।
२०४४ सालमा उनले 'आइओएम' बाट प्रसूति एवं स्त्री रोग (डिप्लोमा इन अबसेट्रिक्स एन्ड गाइनोकोलोजी–डिजिओ) को पढाइ गरिन्।
पछि बेलायतको रोयल कलेजमा स्त्री तथा प्रसूतिसम्बन्धी विषय (एमआरसिओजी) पढिन्। त्यहाँ रहँदा उनले म्यानचेस्टर सहरनिरको टेमसाइड अस्पतालमा मेडिकल अधिकृतकै जागिर खाइन्।
फर्केर उनले प्रसूति गृहमै मेडिकल अधिकृत र सहजकर्ताको काम गरिन्।
डा. सुधा नेपाल चिकित्सक संघकी पहिलो महिला अध्यक्ष पनि हुन्। चिकित्सक संघको अध्यक्षका रूपमा उनी २०६२-६३ को जनआन्दोलनमा सक्रिय थिइन्। २०६५ मा उनी प्रसूति गृहको निर्देशक भइन्।
२०६५ सालमै कायममुकायम जनसंख्या सचिव भइन्। २०६६ मा नयाँ सरकारसँगै उनी स्वास्थ्य सचिव भइन्।
२०६७ वैशाख २० गते उनी फेरि स्वास्थ्य सचिवबाट जनसंख्या सचिव भइन्। पछि फेरि स्वास्थ्य सचिव भएकी थिइन्।
२०६८ पुसमा भने उनले स्वास्थ्य मन्त्रालयको सचिव पदबाट राजीनामा दिइन्।
सरकारी सेवाबाट बाहिरिएपछि डा. शर्माले युनिसेफ, तान्जानियामा स्वास्थ्य र पोषण विभाग प्रमुखका रूपमा काम गरेकी थिइन्। त्यहाँबाट फर्केपछि उनी विभिन्न संघसंस्थामा आबद्ध रहेर स्वास्थ्यसम्बन्धी काममा सक्रिय थिइन्।
उनका 'सिंहदरबारको घुम्ने मेच' र 'अप्रमेय' किताब सार्वजनिक छन्।
मन्त्री शर्माका श्रीमान विजय शर्मा, छोरा गौरव र छोरी ऋचा सबै डाक्टर हुन्।