राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले भदौ २३ र २४ गतेका घटनामा संलग्नलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्।
भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा जेनजी पुस्ताले भदौ २३ गते गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी स्कुल बालबालिकाहरू माथि सरकारले गोली हानेर हत्या गरेको र २४ गते राष्ट्रका महत्त्वपूर्ण संरचनामा आगो लगाएर विध्वंस मच्चाएकाले दुवै दिनका घटनालाई क्षम्य गर्न नमिल्ने उनले बताए।
‘भदौ २३ गते जसरी गोली प्रहार गरेर स्कुलका बालबालिकाको हत्या गरेको छ। त्यसैगरी २४ गते व्यक्तिका निजी सम्पत्ति र देशका महत्त्वपूर्ण संरचनामाथि आगजनी र तोडफोड गरी विध्वंस मच्चाइएको छ, यी दुवै अपराधिक घटना हुन्, दुवै घटनामा संलग्नलाई सरकारले कानुनी कठघरामा उभ्याउनुपर्छ,’ सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उनले भने।
अन्तरिम सरकारले गठन गरेको छानबिन आयोगले घटनाको छानबिन गरिरहेको र उक्त आयोगले नपुगे अझै शक्तिशाली र उच्चस्तरिय आयोग गठन गरेर भए पनि दुवै दिनको घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने बताए।
उनले भदौ २३ गतेको जेनजीको आन्दोलनमा आफ्नो पार्टीले संस्थागत रुपमै समर्थन जनाए पनि २४ गतेको घटनामा पार्टीको कुनै पनि संलग्नता नभएको बताए।
उनले रास्वपाका कुनै पनि नेता तथा कार्यकर्ता निजी वा सरकारी भौतिक संरचनामा तोडफोड र आगजनीमा संलग्न रहेको पाइएमा पार्टीले कारबाही गर्ने बताए।
नख्खु कारागारको घटनाको विषयमा आफूसहित रास्वपाका नेताहरू जोडिएको विषयमा बोल्दै अर्यालले पार्टी सभापतिको सुरक्षाको लागि लिएर जान कारागार प्रशासनले भनेपछि आफूहरू गएको दाबी गरे।
‘कारागार प्रशासन र त्यतिबेलाको राज्यको माथिल्लो निकायबाट कारागारमा पार्टी सभापति असुरक्षित हुन सक्ने भन्दै लैजान हामीलाई भनिएकोले म आफै पनि कारागार गएको हुँ, यदि त्यो मेरो गल्ती वा अपराध हो भने कारबाही भोग्न तयार छु,’ उनले भने।
अर्यालले पछिल्लो समय समाजका विभिन्न व्यक्तिहरूलाई रास्वपामा ल्याउने सहमति भइसकेको भन्ने समाचार सार्वजनिक भइरहेको उल्लेख गर्दै त्यस्ता समाचारमा कुनै पनि सत्यता नभएको स्पष्ट पारे।
‘मुलुकको परिवर्तन चाहने व्यक्ति वा वैकिल्पक शक्तिका बीचमा सहकार्य गर्नुपर्छ भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको छ तर, जसरी व्यक्ति नै तोकेर रास्वपाको सभापति फलानो व्यक्तिलाई बनाउने सहमति भयो भन्ने जस्ता समाचार आएका छन् त्यसमा सत्यता छैन, समाचारमा आएजस्तो कुनै पनि व्यक्ति वा शक्तिसँग छलफल भएको छैन,’ उनले भने।
कार्यवाहक सभापति अर्यालले मुलुकलाई सही निकास दिन निर्वाचनको विकल्प नभएकोले फागुन २१ मा चुनाव हुनुपर्छ भन्ने पक्षमा पार्टी रहेको बताए।
निर्वाचनका लागि पार्टी केन्द्रित भइसकेको र उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा निर्वाचनको लागि बाचा पत्र तयार पार्ने काम भइरहेको उनले बताए।
पार्टीले कात्तिक १५ गते निर्वाचनकेन्द्रित कार्यक्रम घोषणा गर्न लागेको उनले बताए।
अहिलेको सरकारले चुनाव गराउन नसके मुलुक नै अप्ठ्यारोमा पर्ने भन्दै निर्वाचनबाटै मुलुकलाई सहि दिशा दिन सकिने भएकोले तोकिएको समयमै निर्वाचन हुनुपर्ने उनले बताए।