कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रदेश सभाको पुनःर्निर्माण कार्य सुरू गर्न आग्रह गरेका छन्।
मंगलबार प्रदेश सभाका सभामुख नन्दा गुरुङ र प्रदेश सभा सचिव जिवराज बुढाठोकीसँग मुख्यमन्त्री कँडेलले हल बाहेकका अन्य संरचनाको पुनर्निर्माण कार्य नियमित बजेटबाटै सुरू गर्न सुझाएका हुन्।
'बजेटको अभावलाई कारण नबनाई तत्काल काम सुरू गर्नुपर्छ र आवश्यकता परे प्रदेश सरकारले थप बजेटको व्यवस्था गर्छ,' उनले भने।
मुख्यमन्त्री कँडेलले सुरूवाती चरणमा आवश्यक आधारभूत आवश्यकताका सामानहरू टेबुल-कुर्सी व्यवस्थापन गर्न निर्देशन दिए।
भदौ २४ गतेको करिब ५० दिन बितिसक्दा पनि प्रदेश सभा परिसरमा सरसफाइको काम सुरू नभएकोमा उनले असुन्तुष्टि पोखे।
'कर्मचारी हुनुहुन्छ, तर ढलेका बोर्ड, फोहोर र क्षतिग्रस्त वस्तुहरू उठाउने काममा ध्यानै दिइएको छैन। अब परिस्थिति सामान्य बनाउन सबै अग्रसर हुनुपर्छ', उनले भने।
मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको प्राथमिकतामा प्रदेश सभा भवनको पुनः र्निर्माण, प्रशासनिक सेवा सहज बनाउने र सभाको नियमित बैठक सञ्चालन सुनिश्चित गर्ने विषय प्राथमिकतामा रहेको बताए।
सभामुख गुरूङ र सचिव बुढाठोकीले पनि मुख्यमन्त्रीलाई भवन पुनः र्निर्माणका लागि आवश्यक सहयोग र प्रक्रिया अघि बढाउने प्रतिबद्धता जाहेर गरेका थिए।
प्रदेशसभा सचिव बुढाथोकीका अनुसार आगजनीबाट प्रदेशसभा भवन ध्वस्त पारिएका कारण बैठक कहाँ बस्ने भन्ने टुंगो थिएन।
उनका अनुसार कर्णाली प्रदेश सरकारको सामुन्ने सभाहल रहेपनि त्यही ठाउँमा प्रदेशसभा सञ्चालन गर्ने वा अरु कुनै ठाउँ छनोट गर्ने भन्ने कुरा हालसम्म टुंगो लागि सकेको छैन ।
उनले आफूहरू बुधबार मात्रै त्यसबारे छलफल गर्ने गरि तयारीमा रहेको बताए ।
साउन अन्तिममा वर्षे अधिवेशन अन्त्य गरेको कर्णाली प्रदेश सभाले माघसम्म बैठक बस्नुपर्ने हुन्छ। तर, आगजनीबाट प्रदेशसभा नै खण्डहर बनेपछि बैठक कहाँ बस्ने भन्ने अन्यौल सृजना भएको प्रदेशसभा सचिवालय स्रोतले बताएको छ।