नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एकीकृत समाजवादीमा रहेका नेता कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरेका छन्।
एमाले जनसंगठन संयन्त्र, कोशीको आयोजनामा मंगलबार भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले एकीकृत समाजवादीलाई बस स्टप जस्तो बनाउन खोजेर माओवादीमा मिसाउने प्रयत्न भइरहेको टिप्पणी गरे। माओवादी केन्द्रसँग एकता हुन लागेको सन्दर्भमा नेता ज्ञवालीले एकीकृत समाजवादीलाई बस स्टप जस्तो बनाएर मिसाउन खोजिएको बताएका हुन्।
‘नेकपा फुटाएर नयाँ पार्टी बनाउँछौं, नयाँ उचाइ दिन्छौं भन्नेहरू आज माओवादी केन्द्रमा जान खोज्दै हुनुहुन्छ। के माओवादी केन्द्रमा जानका लागि एकीकृत समाजवादीलाई बस स्टप बनाइएको हो?,’ उनले भने, ‘प्रचण्डले पुनः आफू अध्यक्ष हुनका लागि विभिन्न पार्टीहरूसँग एकीकरण गरिरहेका छन्। माओवादी केन्द्र होइन, नयाँ पार्टीको म अध्यक्ष हुँ भन्नका लागि यो सबै गरिरहनु भएको हो।’
उनले राष्ट्रहित र संवैधानिक व्यवस्था खतरामा परेको दाबी गरे। लोकतन्त्र, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई कमजोर बनाउनका लागि अहिले षड्यन्त्र भइरहेको पनि बताए।
‘जेनजीको नाममा देशमा विध्वंश सिर्जना गरी सार्वभौम सत्ता र राष्ट्रियतालाई खतरामा पार्ने प्रयास भइरहेको छ। हाम्रो भूमि प्रयोग गरेर छिमेकीविरूद्ध गतिविधि गर्ने प्रयत्न भइरहेको छ। हामी यस्ता प्रयासबाट होसियार हुनुपर्छ,’ उनले भने।
पछिल्लो घटनाक्रमले संविधान र लोकतन्त्र संकटमा रहेको उनले बताए।
‘संविधानले नचिनेका मानिस प्रधानमन्त्री भएका छन्। हैसियत नभएकाले कर्मचारीलाई थर्काइरहेका छन्। कर्मचारी डराइरहेका छन्, काम हुन सकेको छैन। आन्तरिक सुरक्षा मात्र होइन, राष्ट्रिय सुरक्षा समेत खतरामा छ। यस अवस्थामा चुनाव हुँदैन,’ उनले भने।
अहिले संविधान मात्रै होइन देशलाई सिध्याउने षड्यन्त्र भइरहेको चर्चा गर्दै उनले भने, ‘जेलेन्सकी जस्ता पात्रहरू सिर्जना गरेर देशलाई ध्वंस गर्ने प्रयत्न हुँदैछ। अहिलेको व्यवस्थामा कार्यकारीमाथि संसदले चेक एण्ड ब्यालेन्सको भूमिका निर्वाह गर्छ। तर हामीले पपुलिजमको भरमा परेर कार्यकारीको कुरा गरिरहेका छौं। त्यो हाम्रा लागि खतरा छ अहिले हाम्रो मुलुकलाई आगो लगाउनका लागि यस्ता विभिन्न खालका कुराहरू गरिँदैछ।’
विभिन्न बहानामा सामाजिक सद्भाव खलल पुर्याउने, आर्थिक संरचनाहरू ध्वस्त बनाउने परिस्थिति बनाएको उनको भनाइ छ।
यसप्रति पार्टी पंक्ति बेलैमा सचेत हुनुपर्ने ज्ञवालीको भनाइ थियो। दलहरूलाई कुनै दुविधामा नरही व्यवस्थालाई जोगाउनका लागि संसद पुनःस्थापनाको एजेन्डामा एक हुनुपर्नेमा जोड दिए।