प्रस्तावित कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सदस्य लेखनाथ दाहाल (राजन) ले झन्डै दर्जन प्रश्न सोधेका छन्। कम्युनिस्ट पार्टी नेपाल पार्टी दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा निवेदन दिएपछि दाहालले छलफलमा आएको नाम बोकेर किन निर्वाचन आयोग गएको भन्दै प्रश्न गरेका हुन्।
‘अन्ततः यही बाटोमा आउनु थियो भने जन विश्वास आर्जन गरेको एकताबद्ध र मजबुत केन्द्रीकरण भएको पार्टी किन विभाजित गरेको? नेता, कार्यकर्ता र जनताको मनोविज्ञान किन विभाजित गरेको?,’ विप्लवले सोधेका छन्, ‘वार्ता टोलीमा नाम र चुनाव चिह्न बारे छलफल र निष्कर्षमा पुग्नै लाग्दा छलफलमा आएको नाम लिएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन किन दिएको? नामको प्रस्तावक को हो, त्यो त अवगत नै होला।’
दाहालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत तत्कालीन माओवादीका नेताहरूको हत्या गर्न बम किन बिछ्याएको भनेर प्रश्न गरेका छन्। त्यस्तै उनले अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागेको भने पनि प्रश्न तेर्स्याएका छन्।
‘आफ्नै पार्टीको केन्द्रीय समितिको बहुमत केन्द्रीय समिति सदस्यको निर्णय अस्वीकार गरी लेनिनवादी संगठनात्मक पद्दतिलाई अस्वीकार गर्दा (नेकपा बहुमत ) बनाउनु पर्ने बाध्यता किन सिर्जना गरेको? अत्यधिक केन्द्रीय सदस्य एकताको पक्षमा हुदाहुँदै एकता नगरी फेरि त्यही अवस्था सिर्जना गर्न खोजेको हो?,’ उनले भनेका छन्।
त्यस्तै माओवादी केन्द्रसहित समाजवादी मोर्चामा आबद्ध दलहरू एकता गर्दा विप्लवले पार्टी अध्यक्ष मागेको पनि दाहालले बताएका छन्।
‘गएका १३ वर्षमा अध्यक्ष नै दिएर पुरस्कृत गर्नु पर्ने गरी के योगदान गरेको छ र अध्यक्ष मागेको? विचार मिल्नेसँग एकताको लागि वार्ता जारी रहँदारहँदै बिनाजानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीजीसँग पनि एकताको लागि संवाद किन सुरू गरेको? यही बीचमा दर्जनौं पटक राजावादीहरूसँग गोप्य वार्तामा बस्नुको कारण के हो?,’ उनले प्रश्न गरेका छन्।